
विराटनगर । विराटनगर महानगरपालिकामा २ हजार २५७ परिवार गरिब परिवारका रूपमा पहिचान भएका छन् । संघीय सरकारको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत पहिचान भएका यी परिवारलाई महानगरले अब सम्बन्धित वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्ने भएको छ ।
महानगरको तथ्यांकअनुसार पहिचान भएका परिवारमध्ये ४९८ अति गरिब, १ हजार ४२ मध्यम गरिब र ७१७ सामान्य गरिबको सूचीमा छन् । महानगरभित्र रहेका कुल ३८ हजार ६१९ घरपरिवारमध्ये करिब ५ दशमलव ८४ प्रतिशत परिवार गरिबीको सूचीमा परेको देखिएको छ ।
महानगरका १९ वटै वडामा पहिचान भएका परिवारलाई परिचयपत्र उपलब्ध गराउने तयारी गरिएको हो । यसका लागि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलाई परिचयपत्र हस्तान्तरण गरेका छन् । अब सम्बन्धित वडा कार्यालयबाट लाभग्राही परिवारले परिचयपत्र प्राप्त गर्नेछन् ।
महानगर प्रमुख कोइरालाले गरिब परिवारको पहिचान र परिचयपत्र वितरणलाई राज्यबाट प्राप्त हुने सुविधा वास्तविक लाभग्राहीसम्म पुर्याउने आधारका रूपमा व्याख्या गरेका छन् । परिचयपत्र प्राप्त परिवारको आर्थिक तथा सामाजिक अवस्था र आवश्यकताका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।
उनले गरिब परिवारको पहिचानलाई परिचयपत्र वितरणमा मात्र सीमित नराखी उनीहरूको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताए । संघीय सरकारको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी वास्तविक लाभग्राहीले राज्यबाट पाउनुपर्ने सुविधा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्दा लाभग्राहीको विवरण प्रमाणीकरण र अभिलेख व्यवस्थापन सहज हुने बताए । वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउँदै परिचयपत्र प्राप्त परिवारलाई राज्यका लक्षित सेवा तथा सुविधासँग जोड्नुपर्ने उनले बताए ।
नेपाल सरकारले आर्थिक रूपमा कमजोर परिवारको पहिचान गरी उनीहरूलाई विभिन्न सेवा, सुविधा र सहुलियतमा प्राथमिकता दिने उद्देश्यले २०७५ सालदेखि गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

























