हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १९:२८

विराटनगर । शवदाहका लागि दाउरा अभाव हुने, उपभोग्य सामग्रीमा चर्को मूल्य लिने र शवदाहपछि निस्कने सामग्रीको उचित व्यवस्थापन नहुने गुनासो बढेपछि विराटनगर महानगरपालिकाले हाटखोलास्थित श्मशान घाटको व्यवस्थापन सुधार्ने भएको छ ।

विराटनगर महानगरपालिका–७ स्थित घाटमा केही दिनयता शवदाहका लागि पुगेका आफन्तले आवश्यकताअनुसार दाउरा नपाएको गुनासो गरेका थिए । केही दिनअघि एकैदिन तीनवटा शव लिएर पुगेका आफन्तले दाउरा अभाव भएपछि शव अन्यत्र लैजानुपर्ने अवस्था आएको थियो । घटनापछि घाट व्यवस्थापनप्रति नागरिकस्तरबाट आलोचना बढेको थियो ।

गुनासो सम्बोधन गर्न नगरप्रमुख नागेश कोइरालाले शुक्रबार घाट व्यवस्थापन समितिका पदाधिकारी र सम्बन्धित वडाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । छलफलमा घाटमा देखिएका समस्या तत्काल समाधान गरी सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन उनले निर्देशन दिएका छन् ।

महानगरले अब परोपकार घाट र श्मशान घाट दुवैमा दाउराको एकरूप मूल्य निर्धारण गर्ने भएको छ । दुवै घाटका व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय गरेर निश्चित दररेट कायम गरिने निर्णय भएको छ । यसले दाउराको मूल्यमा मनपरी हुन नदिने महानगरको अपेक्षा छ ।

त्यस्तै, शवदाहपछि बाँकी रहने दाउरा, कपडा, फूलमाला र अन्य सामग्री खोलामा जथाभावी फाल्न रोक लगाइने भएको छ । त्यस्ता सामग्री संकलनका लागि निश्चित स्थान तोकेर व्यवस्थित रूपमा व्यवस्थापन गरिनेछ ।

घाट परिसरमा सञ्चालित चमेनागृहमा चिया, पानी, बिस्कुटलगायत उपभोग्य सामग्रीको मूल्य पनि बजार मूल्यभन्दा बढी लिन नपाइने व्यवस्था गरिने भएको छ । सेवाग्राहीलाई सामान्य उपभोग्य सामग्री खरिदमा समेत अतिरिक्त मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।

घाट परिसरमा पर्याप्त प्रकाशको व्यवस्था गर्न विद्युत् तथा बत्तीको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ। सरसफाइ, समग्र व्यवस्थापन र सेवाप्रवाहको नियमित अनुगमन गर्ने जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी र वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललाई दिइएको छ ।

छलफलमा दुवै वडाका अध्यक्षले वर्तमान व्यवस्थापन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सेवाप्रवाह सुधार्न आग्रह गरेका थिए । उनीहरूले समितिले अपेक्षाअनुसार काम गर्न नसकेको र अघिल्लो समितिको कार्यकालमा यस्ता गुनासा नआएको बताएका थिए ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, घाट व्यवस्थापन समितिका अध्यक्ष सतिश दुगड, कोषाध्यक्ष जुगलकिशोर राठीलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.