गाउँ फर्किँदाको सम्झना: प्रकृति, माया र घरबेटीको भाडा !

Share this
689shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ मंसिर ५, शनिबार ०८:४५

म फेरि त्यही गाउँमा पुगे छु । पसिनाले भिजेको छाती चिसो हावाको स्पर्शले सुकाएँ । वरिपरि चराहरू चिरबिर–चिरबिर गरिरहेका थिए ।

गन्तव्यभन्दा पनि मीठो यात्रा हुँदो रहेछ । जहाँ हरेक उकालो ओरालोमा एउटा लट्ठी सहारा बन्छ । जसले साथीले जत्तिकै ठूलो साथ दिन्छ । तर कहिल्यै केही अपेक्षा राख्दैन । कुनै स्वार्थ बोक्दैन । संसारको सबैभन्दा खल्लो पेय पदार्थ पानी हो । जसको कुनै निश्चित स्वाद हुँदैन । तर बगिरहेको खोलाले सबैको तिर्खा मेटाउँछ। तृप्त बनाउँछ ।

कुहिरोमा अलमलिँदै जब प्रकृतिको मीठो गीत बाफ बनेर आकाशलाई छुन उड्थ्यो । त्यस बखत मलाई भान पर्छ, मानिसले भन्दा सुन्दर जीवन बाँच्दा रहेछन् नदीहरूले, खोलाहरूले– जसलाई निरन्तर यात्रा मन पर्छ ।

लालीहरू कुमारीको बैँसझैँ वनै सुबासित हुने गरी ढकमक्क फुलेका छन् । ससाना घरहरूले हिमालको सुन्दर टोपी ओढेका छन्। छेवैमा एउटा गाई घाँटीमा झुन्डिएको घण्टी बजाउँदै मीठोसँग चरिरहेको छ ।

संसारको सबैभन्दा मीठो कविता सुन्न गाउँ फर्कनु पर्दछ । जहाँ गोठाले दाइले सुसेलीद्वारा सुनाउँछन् भीर पाखाको कविता । जहाँ पल्ला घरे काकीले मोही पार्दा घार्रघुर्रबाट निस्किन्छन् सिर्जनाका छन्द । आहा १ यहाँ त माटोले पनि सुगन्धद्वारा सुनाउँछ धरतीको गीत । एकताको कथा ।

ईश्वरले मान्छेद्वारा मान्छेको भलो गराउँछ । तर आफ्नो दर्शन कहिल्यै दिँदैन । कसैलाई दुःखमा साथ दिएको बेला, दुःखीको ओठमा हाँसिरहेको अरू कोही होइन । त्यो स्वयं ईश्वर हो । हामीसँग सधैँ डुलिहिँड्ने त्यो केवल एउटा छाया हुन सक्तैन ।

गाउँका खेत खलियानहरूमा लहलह झुलिरहेको त्यो हाम्रै भाग्य हो । ती आरुका फूल हाम्रै यौवन हुन् । जसले प्रत्येक बिहान तप… तप… वेदनाको आँसु खसाउँछन् । गौँथलीहरू हाम्रो सानो घरमा आएर पक्की घर बनाउँछन् । माहुरीहरूले ठूलो गुँड लगाउँछन् । हामीलाई भन्दा धेरै घरको माया उनीहरूलाई छ । हामीलाई भन्दा धेरै गाउँको माया उनीहरूलाई छ ।

मलाई कहिलेकाहीँ लाग्छ परिवारबिनाको घर सधैँ अपूर्ण हुन्छ । घरहरू मिलेर नै गाउँ पूर्ण हुन्छ । घरकै चुलोमा माया पाक्छ। घरकै चुलोमा आशा बल्छ । र गाउँकै माटोले भोक मेट्छ ।

सबेरै उठ्न अहिले अलार्म राख्नुपर्छ । पहिला त आमाको हातको चुरा, बहिनीले इनारमा बाल्टी टाङ्टाङ–टुङटुङ बज्न थालेपछि लाग्थ्यो सबेरै भइसक्यो । बुबाले गोठमा दूध दुहेर कोठाभित्र पस्दा जब गाईको काँचो दूध गनाउन थालेपछि लाग्थ्यो अबेर भइसक्यो ।

आज फेरि म त्यही गाउँमा पुगेछु । जहाँ खुसी साट्न कुनै चाड पर्खनु पर्दैनथ्यो । एउटालाई दुःख पर्दा सबैको मनको बाँध फुट्थ्यो । ऐँचो पैँचोमा पनि सजिलै जिन्दगानी चल्थ्यो । मलाई यसैबेला कसैले ढोका ढकढकाएझैँ लाग्यो । अरू कोही होइन । ती घरबेटी बा थिए १ भाडा नतिरेको पनि महिनौँ भयो । यसपालि दसैँ खर्च भए पनि बुझ्न भनेर आएका रहेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.