
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा यतिबेला जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकलाई किसानका खेतबारीमा भ्याइनभ्याइ छ । उनीहरू धान थन्क्याउने खलामै पुगेर किसानले उत्पादन गरेको धान नापिरहेका छन् । धेरै अन्नबाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिने कार्यक्रमअन्तर्गत गाउँपालिकाले उत्पादनको विवरण संकलन गरिरहेको हो ।
मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि किसानलाई उत्पादनका आधारमा प्रोत्साहन दिन थालेको हो । धान थन्क्याउने समयमा खलामै पुगेर उत्पादनको नापजाँच गर्ने र त्यसको अभिलेख राख्ने गरिएको छ । कार्यक्रमबाट लाभ लिन किसान उत्साहित भएपछि गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिक टोली हरेक वर्ष धान भित्र्याउने समयमा खेतखेतमा पुग्ने गरेका छन् ।
यसैक्रममा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित आफ्ना तीन खलामा धान झार्ने जानकारी वडा कार्यालयलाई गराए । धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान नापिएको थियो । बोहोराको एउटा खलामा २५ मुरी धान भरिएको थियो । यस वर्ष उनले उक्त परिमाणसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका छन् ।
गाउँपालिकाभित्र सबैभन्दा धेरै धान उत्पादन गरेकाले बोहोराले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए । धानसँगै गोठे मल उत्पादनमा पनि उनले पुरस्कार पाउन सक्ने रेग्मीको भनाइ छ । ‘बोहराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ,’ उनले भने, ‘पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय किसानले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहनुभएको छ ।’
गाउँपालिकाका प्रवक्ता अविशन लावतीका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि अन्नबालीसँगै मल उत्पादनमा पनि प्रोत्साहन दिइँदै आएको छ । हालको व्यवस्था अनुसार ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो राख्नेलाई ३० हजार रुपैयाँ, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने गरिएको छ ।
पुरस्कार पाउन किसानले उत्पादन भित्र्याउनुअघि नै वडा कार्यालयलाई जानकारी गराउनुपर्छ । त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी उत्पादनको विवरण लिने व्यवस्था छ। उत्पादनको नापजाँच र अभिलेखका आधारमा पुरस्कार वितरण गरिन्छ ।
कार्यक्रमका लागि वार्षिक करिब दुई करोड रुपैयाँ खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष पुरस्कारका मापदण्ड केही कडा बनाउने तयारी गरेको छ । ‘उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ,’ प्रवक्ता लावतीले भने, ‘विगतभन्दा धेरै अन्तर हुँदैन । अहिले पनि किसानले राम्रो लाभ पाउनुहुन्छ ।’
गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईका अनुसार यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा मल भण्डारणबारे पूर्वजानकारी दिन किसानलाई वडा कार्यालयमार्फत सूचित गरिएको थियो। सोही सूचनाका आधारमा किसानले दिएको निवेदनअनुसार अहिले धानको नापजाँच भइरहेको छ ।
कोभिड–१९ महामारीपछि गाउँपालिकाले ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले किसान प्रोत्साहन कार्यक्रम सुरु गरेको थियो । सुरुमा ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने तथा चार फिट उचाइ र २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने गरिएको थियो । त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन दिइन्थ्यो। लाभग्राहीको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले पुरस्कारको रकम घटाएको हो ।
गत वर्ष मात्रै गाउँपालिकाले ५८६ जना किसानलाई एक करोड ८५ लाख ६५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरेको थियो । प्रवक्ता लावतीका अनुसार धान उत्पादन गर्ने १०७ जना किसानले ५३ लाख ५० हजार, मकै उत्पादन गर्ने २४८ जनाले ७४ लाख ४० हजार, आलु उत्पादन गर्ने ६७ जनाले १६ लाख ७५ हजार र मल उत्पादन गर्ने १६४ जनाले ४१ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।
पुरस्कार पाउने किसानको सङ्ख्या वर्षेनि बढ्दै गएको र त्यससँगै अन्नबाली उत्पादनमा पनि वृद्धि भइरहेको प्रवक्ता लावतीले बताए ।
पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि धान उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिँदै आएको छ। त्यहाँ ५० मुरीभन्दा बढी धान उत्पादन गर्नेलाई ३० हजार र १०० मुरीभन्दा बढी उत्पादन गर्नेलाई ५० हजार रुपैयाँ दिने गरिएको छ । जिल्लाका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका अन्नबाली उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । यी दुवै पालिकामा तुलनात्मक रूपमा सिँचाइको सुविधा पनि राम्रो रहेको छ ।

























