
विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको नयाँ नेतृत्वले निर्माण क्षेत्रका वर्षौंदेखिका समस्या समाधानलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ ।
महासंघ कोशीका नवनिर्वाचित अध्यक्ष केशरकुमार बुढाथोकीले सरकारी भुक्तानीमा देखिएको समस्या, बेरुजुको अन्योल र म्याद गुज्रिएर अलपत्र परेका आयोजनाको गाँठो फुकाउँदै पुनः सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् । विराटनगरमा आइतबार आयोजित शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बुढाथोकीसहित १७ सदस्यीय कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको हो ।
मुख्य निर्वाचन आयुक्त मुकेश उपाध्यायले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए । निर्वाचित भएकाहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

शपथग्रहणपछि अध्यक्ष बुढाथोकीले निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि समयमै भुक्तानी नपाउँदा सरकारी अभिलेखमा बेरुजु देखिने समस्या रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने बताए । यसका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरिने उनको भनाइ छ ।
उनले मूल्यवृद्धिका कारण प्रभावित भएका ३६२ वटा सालबसाली निर्माण आयोजनाको म्याद थप गरी रोकिएका काम अघि बढाउने विषयलाई पनि प्राथमिकतामा राखेका छन् । निर्माण सामग्रीको मूल्य बढ्ने तर पुरानै लागत र समयसीमामा काम गर्नुपर्ने अवस्थाले व्यवसायी समस्यामा परेको भन्दै बुढाथोकीले अलपत्र आयोजनाको गाँठो फुकाउन पहल गर्ने बताए ।
निर्माण व्यवसायप्रति समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्नु पनि नयाँ नेतृत्वको चुनौती रहेको उनले बताए । निर्माण क्षेत्रलाई युवामैत्री बनाउँदै नयाँ पुस्तालाई यस पेसामा आकर्षित गर्ने र व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउन पत्रकार, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता उनले जनाए ।

बुढाथोकीले महासंघलाई कुनै व्यक्ति वा समूहको नभई सबै निर्माण व्यवसायीको साझा संस्था बनाउने दाबीसमेत गरे । प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी महिला, युवा, अनुभवी तथा अग्रज व्यवसायीलाई समेटेर सामूहिक नेतृत्वको अभ्यास अघि बढाउने उनको भनाइ छ ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जनसेवक भण्डारीले नयाँ नेतृत्वलाई अघिल्लो कार्यसमितिले थालेका कामको निरन्तरता र संस्थागत सुधारमा ध्यान दिन आग्रह गरे । उनले व्यवसायीको हकहित संरक्षणसँगै निर्माण पेसाको मर्यादा कायम राख्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
प्रदेश महासंघको कामलाई थप प्रभावकारी बनाउन नीतिगत तथा कानुनी संरचनामा रहेका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिँदै भण्डारीले पुराना माइन्युट र महत्वपूर्ण दस्तावेज सुरक्षित राख्न तथा डिजिटलाइजेसन गर्न पनि सुझाव दिए । कठिन परिस्थितिमा अघिल्लो कार्यसमितिले गरेका कामलाई संस्थागत गर्दै नयाँ नेतृत्वले थप उपलब्धि हासिल गर्ने विश्वास उनले व्यक्त गरे ।

शपथग्रहणसँगै निवर्तमान कार्यसमितिले नवनिर्वाचित अध्यक्ष बुढाथोकीलाई खातापाता तथा आवश्यक कागजात हस्तान्तरण गरेको थियो । त्यससँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।
महासंघको शनिबार राति सम्पन्न नवौँ अधिवेशन तथा १६औँ वार्षिक साधारणसभाबाट बुढाथोकी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनमा उनले प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई १४० मतले पराजित गरेका थिए ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष (वरिष्ठ उपाध्यक्ष)मा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा, तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत र महासचिवमा सन्तोषकुमार बस्नेत निर्वाचित भएका छन् । त्यसैगरी, उपमहासचिव (नीतिगत)मा लीलाप्रसाद गुरागाईं, उपमहासचिव (आन्तरिक)मा चन्द्र पाठक, कोषाध्यक्षमा किशोर भट्टराई र सहकोषाध्यक्षमा मनोजकुमार राई चयन भएका छन् ।
सदस्यमा लक्ष्मी श्रेष्ठ, गणेशप्रसाद यादव, उत्तमकुमार पौडेल, सन्तकुमार मेहता, तिलकराज पौडेल (मनोहर), चन्द्रशेखर सुवेदी, रणबहादुर कार्की र सुप्रिम राई निर्वाचित भएका छन् । निर्माण क्षेत्रका समस्या समाधान, सरकारी भुक्तानीको सहजता, बेरुजु व्यवस्थापन र अलपत्र आयोजनाको निरन्तरता नयाँ नेतृत्वका लागि प्रमुख कार्यभार बनेका छन् ।






































