
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा सहकार्यको महत्त्वपूर्ण परियोजना ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास हुने भएको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो।
संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने उक्त आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले अघि बढाउन लागेको हो। आयोजनाको अनुमानित लागत ९२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शालिग्राम भण्डारीका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुणको शिलान्याससँगै अन्तरदेशीय प्रसारण लाइन विस्तार, विद्युत् निर्यातको स्वीकृति प्रक्रियामा देखिएका समस्या समाधान र बंगलादेशमा विद्युत् निर्यात बढाउने विषयमा छलफल हुनेछ। यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पनि द्विपक्षीय छलफलको एजेन्डामा राखिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत सन् २०२१ मा एसजेभीएनले आयोजनाको जिम्मेवारी पाएको थियो। त्यसपछि सन् २०२३ जुनमा नेपाल सरकार र कम्पनीबीच परियोजना विकास सम्झौता (पीडीए) भएको थियो। निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा अघि बढाइएको यो आयोजना नेपालको जलविद्युत् विकास र ऊर्जा निर्यातका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
तल्लो अरुण आयोजनाको मुख्य विशेषता माथिल्लो क्षेत्रमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनासँग जोडिएर सञ्चालन हुनु हो। अरुण तेस्रोबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई तल्लो अरुणमा पुनः प्रयोग गरी थप विद्युत् उत्पादन गरिनेछ। यसबाट वार्षिक करिब २ हजार ९०१ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान छ।
परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ। त्यस्तै, २५ वर्षको सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अध्ययन तथा प्राविधिक तयारीका काम अघि बढिसकेका छन्। एसजेभीएनले सन् २०३०–३१ सम्म आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
तल्लो अरुणको शिलान्याससँगै प्रधानमन्त्री शाहको भारत भ्रमणमा ऊर्जा व्यापार र पूर्वाधार विस्तारले विशेष प्राथमिकता पाउने अपेक्षा गरिएको छ। विशेषगरी भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात बढाउने, थप जलविद्युत् आयोजनालाई भारतीय बजारमा विद्युत् बिक्रीको अनुमति दिलाउने तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा हुने छलफललाई महत्त्वका साथ हेरिएको छ।

























