
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ।
सप्ताहव्यापी राष्ट्रिय कर दिवस, २०८३ को समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुनेमा झापाको एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामको अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङको आशिका आयल सप्लायर्स र पाँचथरको श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमानदारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए। ‘इमानदारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो। करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ। कर न्याय छिटोछरितो हुनुपर्छ,’ उनले भने ।
उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभई राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्त्वपूर्ण कडी भएको बताए ।
नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास बढ्ने र सुशासन कायम हुने उनको भनाइ थियो ।
उनले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।



















