
झापा । झापाको दमकमा लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक श्रेष्ठ, काठमाडौं महानगरपालिका–१० बस्ने २५ वर्षीय सहिल केसी र दमक–५ गुँरास टोल बस्ने ४९ वर्षीया गीता देवी रायलाई नियन्त्रणमा लिएको हो ।
युनिक श्रेष्ठले आफ्नै घरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार राति साढे ९ बजे छापा मारेको थियो । प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट खैरो हेरोइन बरामद भएको थियो ।
प्रारम्भिक सोधपुछ गर्दा सो लागुऔषध गीता देवी रायसँग किनेर ल्याएको खुलेको थियो । त्यसपछि प्रहरीले गीता देवीको डेरा कोठामा खानतलास गर्दा लुकाइछिपाई राखेको अवस्थामा थप खैरो हेरोइन फेला पारेको थियो ।
बरामद भएको कुल १० ग्राम ५२० मिलिग्राम खैरो हेरोइन सहित तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐनबमोजिम थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

























