
इलाम । पहेँलपुर सुन्तलाका बगान, बोटबाटै टिपेर खाने ताजा फल र रमणीय प्राकृतिक दृश्य । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुर अहिले सुन्तला उत्पादनसँगै ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँको सुन्तला खेतीले वार्षिक तीनदेखि चार करोड रुपैयाँसम्मको कारोबार गरिरहेको छ भने सुन्तलाको स्वाद लिन र बगानको रमाइलो अनुभव गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने सलकपुरको झन्डै ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला यहाँका बगान पहेँलपुर सुन्तलाले भरिएका छन् । पाकेर पहेँलिएका सुन्तलाका बोटले गाउँको सौन्दर्य थपेको छ । सुन्तला किन्न र बोटबाटै टिपेर खान आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकसमेत यहाँ पुग्ने गरेका छन् ।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक औसत एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ । सुन्तला बिक्रीबाट मात्रै गाउँमा वार्षिक तीनदेखि चार करोड रुपैयाँसम्म भित्रिने गरेको छ । यहाँका एक सयभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा सुन्तला खेतीमा संलग्न छन् ।
सलकपुरमा उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बगानबाटै बिक्री हुने गरेको छ । यहाँको सुन्तला झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा समेत सलकपुरको सुन्तलाले बजार पाएको छ । बजारमा प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म पर्ने सुन्तला बगानमै पुग्ने पर्यटकले भने १३० रुपैयाँमै किन्न पाउँछन् । यसले उपभोक्तालाई सस्तो मूल्यमा ताजा सुन्तला उपलब्ध गराएको छ भने किसानलाई बगानबाटै बिक्री गर्ने सहज बजारसमेत मिलेको छ ।
सुन्तला खेतीले आम्दानी मात्रै बढाएको छैन, गाउँमा पर्यटन गतिविधि पनि विस्तार गरेको छ । इलाम, झापा, मोरङ र सुनसरीका साथै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा घरबास ९होमस्टे० सञ्चालनमा छन् । विशेषगरी शुक्रबार र शनिबार घरबासमा पाहुनाको चाप बढ्ने गरेको छ ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । निन्दा–सलकपुर पदमार्ग हुँदै पैदलयात्रा गर्ने र सवारीसाधनबाट पुग्ने पर्यटकको सङ्ख्या सप्ताहान्तमा उल्लेख्य बढ्ने गरेको खड्का बताउँछन् । उनका अनुसार शुक्रबार र शनिबार झापाका बिर्तामोड, दमक, धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ३०० देखि ५०० जनासम्म पर्यटक सलकपुर पुग्ने गरेका छन् ।
खड्का आफैँले पनि १० रोपनी क्षेत्रफलमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका तुलनामा उत्पादन राम्रो भएको उनको भनाइ छ । सुन्तला बगानमा रमाउने पर्यटकले ताजा फलको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको मनमोहक दृश्यसमेत अवलोकन गर्न पाउँछन् । कृषि उत्पादन र प्राकृतिक सौन्दर्यको यो संयोजनले सलकपुरलाई पर्यटकीय गन्तव्यका रूपमा थप चिनाउन मद्दत गरेको छ ।
सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ । गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । उनले दार्जिलिङबाट ल्याएका बिरुवा रोपेर सुरु गरेको खेतीले अहिले व्यावसायिक रूप लिएको छ । पछिल्लो समय पुराना बोट रोगका कारण मर्न थालेपछि नयाँ बगान विस्तार गर्ने क्रम बढेको छ । अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिन थालेका छन् ।
सलकपुरसँगै कुवापानी र जौबारी क्षेत्र पनि सुन्तलाका लागि परिचित छन् । यी क्षेत्रमा सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादन हुँदै आएको छ । यहाँको सुन्तलालाई स्थानीय बजारमा मात्रै सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयाससमेत भइरहेको छ । प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा सलकपुरको सुन्तला प्रदर्शन तथा बिक्रीका लागि लैजाने गरिएको छ ।
कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्र कसरी बलियो बन्न सक्छ भन्ने उदाहरण सलकपुरले प्रस्तुत गरेको छ । सुन्तला खेतीबाट करोडौँको कारोबार, किसानका लागि बगानमै बजार र स्थानीयस्तरमा घरबास व्यवसायको विस्तारले सलकपुरको पहिचानलाई कृषि गाउँबाट कृषि पर्यटनको गन्तव्यतर्फ उन्मुख गराएको छ ।

























