
काठमाडौं । कृषि उत्पादनको उचित मूल्य, कृषि सामग्रीको सहज उपलब्धता र किसानको जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय किसान सञ्जालले सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ। किसानका समस्या तत्काल सम्बोधन नभए देशव्यापी चरणबद्ध आन्दोलन गर्ने सञ्जालले चेतावनी दिएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्जालले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण र खरिद सुनिश्चितता, रासायनिक मलको सहज आपूर्ति, दुग्ध किसानको बक्यौता भुक्तानी तथा बाढीपीडित किसानको पुनः स्थापनालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।
सञ्जालले सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि सोही मूल्यमा खरिदको व्यवस्था गर्न नसक्दा किसानले सस्तो मूल्यमा उत्पादन बिक्री गर्न बाध्य भएको जनाएको छ। सरकारले मोटा धानको प्रतिक्विन्टल तीन हजार ६६० र मध्यम धानको तीन हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकेको छ। तर, उक्त मूल्यमा खरिद सुनिश्चित हुन नसकेको भन्दै गहुँ, मकै, कोदो, तरकारी र फलफूलको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी खरिदको व्यवस्था गर्न माग गरिएको छ।
त्यस्तै, दुग्ध किसानको समस्या समाधानका लागि दूधको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्याउन सञ्जालले माग गरेको छ। सरकारी तथा निजी डेरी उद्योगबाट किसानले पाउन बाँकी बक्यौता तत्काल भुक्तानी गर्न र दूध खरिद गरेको बढीमा एक साताभित्र किसानलाई भुक्तानी दिने कानुनी व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
रासायनिक मलको अभावले हिउँदे बाली प्रभावित भएको उल्लेख गर्दै सञ्जालले मलको नियमित आपूर्ति, पारदर्शी वितरण प्रणाली र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग अघि सारेको छ।
बाढीबाट प्रभावित किसानको पुनः स्थापनालाई पनि सञ्जालले प्राथमिकतामा राखेको छ। गत असोज १० गते भोटेकोशी तथा त्यसपछि बुढीगण्डकी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लाका किसान प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। बाढीले खेतीयोग्य जमिन, बाली, पशुपन्छी र घरटहरामा क्षति पुर्याएकाले प्रभावित किसानलाई निःशुल्क मल, बीउ, सिँचाइ र विद्युत् उपलब्ध गराउन माग गरिएको छ। साथै, मालपोत मिनाहा, निर्ब्याजी कर्जा र उत्पादन अनुदानसहितको राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरिएको छ।
पूर्वी जिल्लामा उत्पादित सुपारीको निर्यात सहज बनाउन डीएनए परीक्षणसम्बन्धी प्रावधान हटाउन, उखुको समर्थन मूल्य प्रतिक्विन्टल एक हजार २५ रुपैयाँ निर्धारण गर्न तथा चिनी उद्योगले किसानलाई तिर्न बाँकी रकम तत्काल भुक्तानी गर्न पनि सञ्जालले माग गरेको छ।
यसैगरी, वन्यजन्तुबाट बालीमा हुने क्षतिको उचित मूल्याङ्कन गरी पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउन, मध्यवर्ती क्षेत्रका बासिन्दाको जीविकोपार्जन र अधिकार सुनिश्चित गर्न तथा भूमिहीन, दलित र सुकुम्वासीका समस्या न्यायोचित ढङ्गले समाधान गर्नुपर्ने माग गरिएको छ।
मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले अघि बढाइएको सुनकोशी–मरिण डाइभर्सन आयोजना ठेक्का प्रक्रिया रद्द भएपछि अन्योलमा परेको भन्दै सञ्जालले निर्माण कार्य तत्काल अघि बढाउन पनि माग गरेको छ।
सरकारले किसानका मागलाई बेवास्ता गर्दै आश्वासनमा मात्रै सीमित राखे देशभरका किसान सङ्गठनलाई एकताबद्ध गरी चरणबद्ध आन्दोलन सञ्चालन गर्ने सञ्जालले जनाएको छ।
राष्ट्रिय किसान सञ्जालका संयोजक डा. प्रेम दंगालद्वारा जारी विज्ञप्तिमा नौवटा किसान तथा कृषि अधिकारसम्बन्धी संघसंस्था सञ्जालमा आबद्ध रहेको उल्लेख छ।

























