
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार प्रतिष्ठानको प्रांगणमा प्लेकार्डसहित प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग कुनै छलफल नगरी नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानसम्बन्धी अध्यादेश तथा नियमावली ल्याइएको भन्दै विरोध जनाएका हुन् ।
उनीहरूले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यस विषयमा नैतिक जिम्मेवारी लिँदै तत्काल पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।
प्रदर्शनमा सहभागी कर्मचारीहरूले ऐन तथा नियमावली निर्माणका क्रममा सम्बन्धित सरोकारवालाका सुझावलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । उनीहरूले अध्यादेश र नियमावली तत्काल खारेज गरी वैज्ञानिक तथा कर्मचारीमैत्री कानुनी व्यवस्था बनाउन माग गरेका छन् ।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यससम्बन्धी नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नरहेको बताए ।
उनले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने र दक्ष जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्ने कदम स्वीकार्य नहुने चेतावनी दिए ।
देशको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य सुनिश्चित गर्न नयाँ विज्ञान नीतिले स्पष्ट मार्गनिर्देशन गर्नुपर्ने उनको भनाइ थियो ।
कर्मचारीहरूले अध्यादेश र नियमावलीका नाममा भइरहेको भनिएको मनोमानी अन्त्य गर्न तथा मन्त्रालय र मन्त्रीबाट संस्थामाथि हुने दबाब रोक्न पनि माग गरेका छन् ।
त्यसैगरी, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्नुपर्ने र प्रतिष्ठानको नेतृत्व खुला प्रतिस्पर्धा तथा योग्यताका आधारमा चयन गर्नुपर्ने उनीहरूको माग छ ।
कर्मचारीहरूले वर्तमान कानुनी व्यवस्थाले संस्थाको स्वायत्तता, वैज्ञानिक अनुसन्धान र दक्ष जनशक्तिको भविष्यमा असर पार्न सक्ने भन्दै आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

























