झापामा लागूऔषध मुद्दाका थुनुवा अस्पतालबाटै फरार

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ५, बुधबार १६:०३

झापा । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका एक जना थुनुवा उपचाररत अस्पतालबाटै बुधबार बिहान फरार भएका छन् ।

बिर्तामोड नगरपालिका–१ मा बस्दै आएका २५ वर्षीय विशाल राई हतकडी फुस्काइ भागेका हुन् । झापा प्रहरीका अनुसार राई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा थिए ।

पेट दुखेर बिरामी परेपछि उनलाई मंगलबार दिउँसो बिर्तासीटी अस्पताल भर्ना गरिएको थियो । निगरानीका लागि खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई झुक्याएर उनी भागेका हुन् ।

फरार भएका थुनुवाको खोजी व्यापक बनाइएको प्रहरीले जनाएको छ । तर, हालसम्म फेला परेका छैनन् । राई लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) १.४४ ग्रामसहित भदौ २ गते बिर्तामोड–१ स्थित पश्चिम बस स्टेण्डबाट पक्राउ परेका थिए । अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीका अनुसार उनले दमक नगरपालिका– ३ को भुटानी शरणार्थी शिविरको सेक्टर ‘जी थ्री’मा बस्दै आएकी भुटानी युवतीसँग बिहे गरेका थिए । श्रीमतीसँग भने सम्बन्धविच्छेद भइसकेको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय झापाले घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.