
संखुवासभा । संखुवासभाको इलाका प्रहरी कार्यालय वानाले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन फरार रहेका पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेका अनुसार हातहतियार खरखजना मुद्दामा राईलाई जिल्ला अदालत चैनपुरले २०७९ असार २४ गते १ वर्ष ६ महिना कैद र १५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
तर, कैद र जरिबाना भुक्तान नगरिकन राई भागिरहेका थिए । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर अदालतमा बुझाएको थियो । कैद सजाय भुक्तानका लागि राईलाई बुधबार अदालतले जिल्ला कारागार खाँदबारी चलान गरेको छ ।

























