
सुनसरी । सुनसरीको धरानमा एक जना व्यक्तिले आफ्नै जेठीसासू (पत्नीको दिदी) र उनकी छोरीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट बालिका (जेठीसासूकी छोरी)को मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका– ३ की ३७ वर्षीया सिर्जना राई (शाही) र उनकी छोरी १४ वर्षीया युजिन शाहीमाथि खुकुरी प्रहार भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए । उनका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका–२ घर भएका ३३ वर्षीय बबिन बरालले आमा–छोरीलाई खुकुरीले हानेका हुन् ।
प्रहरीका अनुसार बबिन सिर्जनाका ज्वाईं (बहिनीका पति) हुन् । उनले घरयासी विवादका क्रममा मंगलबार दिउँसो १२ बजेतिर आमा–छोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । यद्यपि, कस्तो खालको घरयासी विवाद भनेर प्रहरीले स्पष्ट पारेको छैन ।
बबिनको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उचाचारका क्रममा छोरीको मृत्यु भएको र आमाको उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।
खुकुरी प्रहार गर्ने बबिनलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको खुकुरी पनि बरामद गरिएको डीएसपी भण्डारीको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको बताउँदै उनले बबिनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने जानकारी दिए ।

























