विराटनगरमा नारी उत्सव, मुख्यमन्त्रीले गरे उद्घाटन

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १६:०६

विराटनगर । विराटनगरमा शुक्रबारदेखि ३ दिने नारी उत्सव सुरु भएको छ ।

माोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले हरितालिका तिजको अवसर पारेर उत्सवको आयोजना गरेको हो । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा सुरु भएको उत्सव यही १६ गतेसम्म चल्ने छ ।

घरायसी उत्पादनलाई बजारमा ल्याई महिला उद्यमीका लागि ‘प्लेटफर्म’ निर्माणका लागि नारी महोत्सव आयोजना गरिएको संघका अध्यक्ष अनुपम राठीले बताए । उत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

‘राज्ययका तर्फबाट महिला सहभागीता बढाउन के कस्ता नीतिगत प्रवर्धन गर्नुपर्ने ? के कस्ता कानुनी व्यवस्था गर्नुपर्ने ? के कस्ता सहयोग गरेमा महिला उद्यमीहरुलाई अगाडि बढाउन सकिन्छ ? त्यस कुरामा कोशी प्रदेश सरकार साथमा रहेकाले ढुक्क भएर अगाडि बढ्न आग्रह गर्छु,’ कार्कीले भने ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निरला कार्कीले विराटनगर महिला उद्यमको हब बनाउन महानगर सहयोग गर्न तत्पर रहेको बताइन् । स्थानीय औद्योगिक, व्यवसायीक उत्पादनहरु समेत प्रदर्शन गर्न र उत्पादनकर्ता र उपभोगकर्ताबीचको सम्बन्ध विस्तार गरी आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले नारी महोत्सव सुरु गरिएको जानकारी महिला उद्यम समितिका संयोजक श्रुती शर्माले दिइन् ।

नारी उत्सवमा ६० वटा स्टल राखिएका छन् । जसमा १० वटा खाद्यान्न, कृषि लगायतका रहेका छन् भने बाँकी ५० वटा व्यावसायिक स्टलहरु रहेका छन् । मेलामा १२ देखि १५ लाख रुपैयाँ खर्च हुने र ४० देखि ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।

मोरङ जिल्लासहित तेह्रथुम, पाँचथर, इलाम, काठमाडौं र भारतका व्यवसायीले पनि स्टल राखेका छन् । नारी महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । १८ वर्षभन्दा माथिका महिलाहरुका लागि ‘तिज क्वीन’ प्रतियोगिता गर्ने जनाइएको छ ।

प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरुबाट सांगीतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड’ आश्माकुमारी केसी र ‘मिस नेपाल अर्थ’ सुमना केसीको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.