
विराटनगर । विराटनगरमा भएको मोटरसाइकल चोरीको एउटा घटनामा लागुऔषध प्रयोगकर्ता संलग्न रहेको खुलेको छ ।
विराटनगर महानगरपालिका–३ स्थित फूलबारी रेस्टुरेन्टअगाडिबाट गत मंगलबार दिउँसो को ३७ प १२६ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरीमा संलग्न २ जना पक्राउ परेका छन् ।
मोटरसाइकल चोरी गर्दै गर्दा चोरीमा प्रयोग गर्ने सामग्रीसहित महेशकुमार मेहता वारदातस्थलबाटै पक्राउ परेका थिए । उक्त मोटरसाइकल लिएर फरार भएका अमन चौधरीलाई प्रहरीले बिहीबार बूढीगंगा गाउँपालिका–५ बाट पक्राउ गर्यो ।
चौधरीको शरीर खातलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार चौधरीको साथबाट नाइट्राजेपाम १० ट्याब्लेट बरामद भएको हो ।
प्रहरीले चोरी भएको मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्नहरु लागुऔषधका प्रयोगकर्ता रहेको खुलेको छ ।
चोरीमा संलग्नविरुद्ध मोटरसाइकल धनीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

























