आत्मनिर्भरता बढाउन कृषकलाई सहुलियत दिनुपर्छ : महत

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार २०:०२

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई सहुलियत प्रदान गर्नुपर्ने बताएका छन् ।

परनिर्भरता बढेको भन्दै उनले आयतलाई निरुत्साहित गर्नु सहुलियत प्रदान गरेर कृषकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । विराटनगरमा मंगलबार भएको ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उत्पादन बढाउन, उत्पादन लागत घटाउन कृषकलाई सहुलियत अनुदान दिनुपर्नेमा जोड दिएका छन् ।

आयतलाई निरुत्साहित गर्न भन्सार दरबन्दी बढाएर मूल्य अभिवृद्धि कर लगाउनु पर्ने महतको भनाइ छ । ‘जुन उत्पादनमा आतमनिर्भर हुन्छौं, बाहिरबाट आउने ती उत्पादनमा भन्सार कर बढाउनु पर्छ,’ उनले भने ।

नेपालमा कृषि क्रान्तिको सम्भावना ठूलो भएपनि त्यसलाई रुपान्तरण गर्न नसकेकाले समस्या भइरहेको महत बताउँछन् । उनले कृषिमा उत्पादन कम र निर्भर जनसंख्या बढी भएकाले उत्पादन बढाएर वैकल्पिक रोजगारी सिर्जना गर्दै देशमा निर्भरता पनि कसरी कम गर्ने भन्ने कुरा चुनौती रहेको बताए ।

कृषिमा निर्भर जनसंख्याको जीवनस्तर माथि उठाउन तीन तहका सरकारले नीति बनाएर कार्यान्वयनमा लैजानु पर्ने उनको भनाइ छ । कार्यक्रममा कृषि विज्ञ डाक्टर राजेन्द्र उप्रेती, मनोज यादव, सचित रिजाल र उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव पशुपति पोखरेलले कृषि ऋणमा समस्या भएको बताए । धितो निर्देशिका, असली कृषकलाई कृषि ऋण लिन समस्या रहेको तथा भण्डारण र प्रशोधन केन्द्रको अभाव हुँदा बजारीकरणमा समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले स्थानीय कृषि क्षेत्रको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न सके कार्यक्रमले सार्थकता पाउने बताए । अर्का सांसद डोल्मा तामाङले वडा तहदेखि नै नभएपनि पालिका र जिल्लामा भण्डार तथा प्रशोधन केन्द्र भएदेखि किसानले उत्पादन गरेका वस्तुले मूल्य पाउने बताइन् ।

नेपाली कांग्रसकी कोशी प्रदेश सहमहामन्त्री प्रमीला गच्छदारले राजनीतिक अस्थिरताले किसानले सिँचाई सुविधा, मलखाद समयमा नपाउने गरेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.