मोरङमा मृत भेटिएका नाबालिकाकी बेपत्ता आमा झापामा फेला परिन्, कस्तो छ अवस्था ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १९, बुधबार ०८:५२

विराटनगर ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा ५ दिनपछि भेटिएकी छन् ।

नाबालिकाकी आमा अस्मिता पौडेललाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड एरियामा फेला पारेको हो । प्रहरी स्रोतका अनुसार बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।

शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको उपचार सुरु गरिएको प्रहरी स्रोतले बतायो । आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिका छोरी गत शनिबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था हालसम्म अज्ञात थियो ।

स्थानीय र प्रहरीले निरन्तर खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । मोरङ प्रहरी स्रोतका अनुसार बिर्तामोड प्रहरीको सहयोगमा उनलाई फेला पारिएको हो । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् ।

अर्जुन र अस्मिताका नाबालिकाहरु छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए ।

नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको र त्यसपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता शुक्रबार साँझदेखि बेपत्ता भएको जानकारी अर्जुनले प्रहरीलाई दिएका थिए । नाबालिकाहरु भोलिपल्ट मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । तर, अस्मिता भने जीवितै भेटिएकी छन् । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर प्रहरीले यकिन गरिसकेको छैन ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आइनसकेका कारण पुष्टि भइसकेको छैन । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ ।

अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।

‘नाबालिकाहरुको मृत्यु के कारणले भयो र आमा कसरी झापा पुगिन् भन्नेलगायतका कुरा पत्ता लगाउन विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । धेरै दिन खाना नखाएकाले शारीरिक अवस्था कमजोर छ । आँखा पनि रातो छ,’ डीएसपी बस्नेतले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.