विराटनगरबाट सट्टेबाज दाजुभाइ पक्राउ, के हुनसक्छ सजाय ?

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २२, शनिबार १६:५३

विराटनगर । विराटनगरबाट प्रहरीले २ जना सट्टेबाजलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु एउटै घरका दाजुभाइ हुन् ।

विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उत्सव र उत्कृष्टलाई घरबाटै पक्राउ गरिएको जानकारी उनले दिए ।

बस्नेतका अनुसार दुवै जनाले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको पाइएको छ । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको विशेष सूचनाका आधारमा प्रहरीले अर्याल दाजुभाइको घरमा छापा हानेको थियो ।

‘छापा हान्ने क्रममा उत्कृष्टले प्रयोग गर्दै आएको एनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको पाइएको थियो,’ डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुल्यो ।’ सट्टेबाजीमा प्रयोग गर्दैै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।

दुवै जनालाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतको भनाइ छ ।

यस्तो हुन्छ सजाय
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा सट्टेबाज गर्न नहुने र गरेमा कारबाही हुने प्रावधान छ ।सट्टेबाजीमा संलग्न भएको ठहर भएमा कैद सजायसम्म हुने व्यवस्था छ । सट्टेबाजी ‘अनलाइन’ जुवा पनि हो ।

पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुन्छ । दोस्रो पटक खेल्नेलाई १ वर्षसम्म कैद र ५० हजार जरिबाना हुने प्रावधान छ । पटकेका लागि भने १ वर्षको कैदमा पट्कैपिच्छे ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना थप हुनेछ ।

तर, सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिबाना हुने व्यवस्था छ । उक्त सजाय हुनका लागि मुद्दा स्थापित भएर कसुर ठहर हुनुपर्छ ।

‘कसैले सट्टाबाजी गर्नु वा गराउन हुँदैन । कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिनेछ,’ ऐनमा लेखिएको छ, ‘सट्टेबाजी कसुर भएमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.