विराटनगरः नबिर्सने क्षणहरु

Share this
680shares
मुलुकी खबर
राजन पौडेल
clock२०८१ भदौ २९, शनिबार १६:०८

म इण्डियन मासिक पत्रिका कादम्बिनीको नियमित पाठक थिएँ । सन् १९९० मे महिनाको अंकमा एउटा लेख छापिएको थियो । लेखको शीर्षक थियो ‘कहाँ है विराटनगर ?’ उक्त लेखमा लेखकले मत्स्यदेशको राजधानी विराटनगर हो । र, विराटनगर सहडोल, मध्यप्रदेश इण्डियामा पर्छ भनेर लेखेको रहेछ ।

म बसेकै ठाउँ विराटनगरलाई नै इण्डियामा पर्छ भनेर लेख्ने ? पढ्दा पढ्दै रिस उठ्यो । लेखाइले मलाई ‘इरिटेट’ गरायो । मन पोल्यो । घोच्यो । के गरुँ, कसो गरुँ भनेर छटपटी भयो । मन बेचैन भयो । मैले पो बुझिन कि क्या हो भनेर दोहोर्याइँ तेह्रर्याइँ पढे । इण्डियामा पर्छ भन्ने प्रमाणहरु के के उल्लेख गरेको छ कि भनेर खोजे । तर, केही भेटिन । अनि सोचे यस विषयमा चुप लागेर वस्नु हुन्न् । म पनि वि.सं. २०३५ सालदेखि विराटनगरको बासिन्दा ।

विराटनगरको इतिहास केही पढेको थिएँ । सुनेको थिएँ । यो त हुनै सक्दैन । लेखकले किन त्यस्तो लेख्या होला ? उक्त लेख साथीहरुलाई देखाए । अग्रजहरुसँग छलफल गरे । सबैको सल्लाहले यसबारे अध्ययन गर्ने निधो गरे ।

यसका लागि विभिन्न धार्मिक ग्रन्थहरु खोजी खोजी पढें । विराट राजाका बारे प्रकाशित पुस्तकहरु पढें । विराटनगरदेखि नजिकै दक्षिणमा रहेको विराट राजाको प्राचीन दरबार भएको ठाउँ भेडियारीबारे अध्ययन गरे । स्थानीयहरुसँग खासगरी अगुवा राजवंशीहरुसँग पटक पटक छलफल गरे । र, करिब १८ वर्षको अध्ययनपछि बि.सं. २०६४ सालमा ‘मत्स्य देशको राजा विराट र राजवंशी’ पुस्तक लेखे ।

र, पुस्तक नेपाली भाषामा छापियो । ८४ वर्षीय लोकेन्द्रकुमार मल्लले पुस्तक लेख्ने क्रमका सिलसिलाहरु सम्झँदै यसो भने । दराजबाट अंगे्रजी भाषामा उल्था भएको पुस्तक निकालेर देखाउँदै भने, ‘यसमा मत्स्यदेशको राजधानी यही विराटनगर हो । यो नेपालको पूर्वी भेग मोरङ जिल्लामा पर्छ भनेर उल्लेख गरेको छ ।’ पुस्तकमा छापेपछि कसरी यो पुस्तकलाई धेरै इतिहासविद्, अनुसन्धानकर्ता, लेखक, पत्रकार, पुस्तकालयहरुमा पुर्याउन सकिन्छ भन्ने उपायको खोजीमा लागे । यसै सिलसिलामा पुस्तक बोकेर काठमाडौं गएँ । संस्कृतिविद् सत्यमोहन जोशीलाई भेटें । र, पुस्तकको बारे सबै कुरा भने । खुसी हुँदै धन्यवाद भन्नुभयो । साथसाथै भन्नुभयो पुस्तकलाई इण्डियालगायत विश्वसामु पुर्याउनेबारे पनि सोच्नु होला ।

त्यसैबेला अभिनव संस्कृति कोष ग्रन्थका लेखक एवम् मदन पुरस्कार २०५८ बाट सम्मानित हरिराम जोशीलाई भेटें । कनकमणि दीक्षितलाई भेटें । धेरै पाठकहरुसम्म पुगोस् भनेर मदन पुस्तकालय, केशर पुस्तकालय, पुरातात्विक विभागलगायत अरु सरकारी कार्यालयहरुलाई पुस्तक प्रदान गरें । पुस्तकबारे कनकमणि दीक्षितसँग कुरा हुँदा पुस्तकलाई धेरै विदेशी पाठकहरुसम्म पुर्याउन अंग्रेजीमा उल्था गर्ने सुझाब दिनुभयो । मलाई पनि यो आइडिया ठिक लाग्यो ।

र, दाजु देवेन्द्रकुमार मल्लको सहयोगमा वि.सं. २०६७ मा अंग्रेजीमा भाषामा उल्था गरियो King Birata Of  Matsyadesha &  The Rajbanshis अंग्रेजीप्रति अझ पनि खोजी भइरहेको छ । उनले भने, ‘पुस्तक विक्री गरेर पैसा कमाउने उद्देश्य थिएन । र, अझै पनि छैन । यो त आफ्नो माटोप्रतिको माया थियो । पछिसम्म कादम्बिनी पत्रिका पढ्थ्ये ।

तर, विराटनगरको बारेमा थप लेखेको देखिन । सायद पुस्तक कादम्बिनीका प्रकाशकसम्म पुगेको हुनुपर्छ । सम्झँदा यो काम चै मैले ठिक गरे जस्तो लाग्छ ।’

विराटनगरको कुरा गर्दा उनले ‘ग्रेटर विराटनगर’को प्रसंग निकाले । कुराकानीको सिलसिला सुरु गरे ‘ग्रेटर विराटनगरको आइडिया ।’ वि.सं. २०५१ सालमा उनी विराटनगर उपमहानगरपालिकाको सल्लाहकार परिषद्को सदस्य थिए । त्यहीँ बेला आफ्नै व्यावसायका लागि बारम्बार दिल्ली गइरहन्थ्ये । त्यसैले नयाँ दिल्ली सहरको अवधारणा देख्न र बुझ्न अवसर मिल्यो ।

आवास क्षेत्र, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र छुट्याएर व्यवस्थित सहर बसाल्ने आइडिया उनलाई मन प¥यो । सोचे यो मोडल विराटनगर लागू गर्न सक्दा त भविष्यमा राम्रो हुन्थ्यो । आएर नयाँ दिल्ली मोडल जस्तै ग्रेटर विराटनगरको अवधारणा सुनाए । पूर्वमा रंगेली, पश्चिममा इनरुवा, उत्तरमा इटहरी र दक्षिणमा नेपाल भारत सिमाना समेटेर ग्रेटर विराटनगर । मेयरलगायत अन्य व्यक्तिहरुले आइडिया ठिक छ भन्नु भयो । त्यसबेलाका मेयर अशोक कोइरालाले यसको अगुवाइ तपाईंले गर्नु भनेर दिएको पत्र म सँग अहिले पनि छ । सबैले मन पराएको आइडिया । किन कार्यान्वयन भएन त ?

उनले भने, राजनैतिक नाफा घाटाको हिसाब, भूगोल बढ्दा व्यापार घट्छ कि भन्ने सोचाइ, ठिकै त छ किन बढाउनु प¥यो भन्ने मानसिकताले हुन सकेन । सायद मैले नै राम्ररी बुझाउन सकिन । बुझेका केहिले पनि नबुझे झैं गरे । फलस्वरुप त्यो आइडिया त्यसै बिलायो । यसको असर अहिले हामी भोगी रहेका छौं । मानव बस्तीभित्र उद्योग छन् । उद्योगबाट निस्केको धुवाँ र फोहोर बस्तीमा पसेको छ । एउटै घरमा डान्सबार र आवासीय कोठा छन् । एकै घरको तल्लो तलामा रेस्टुरेन्ट चल्छ । माथी कोचिङ सेन्टर । धेरै गाडी चल्ने, हल्लाखल्ला हुने ठाउँमा विद्यालय छ । अस्पालको छेउमै गृल र गाडीको वार्कसप छ ।

जीवनमा यस्ता घटनाहरु त कति छन् कति । विराटनगरको ‘राजवंशी चोक’ नाम राख्ने गर्ने बेलामा पक्ष र विपक्षमा भएको तर्क वितर्क बिर्सी नसक्नु छ । घटनासम्झने क्रममा उनले भने,  ‘मेरो जन्म वि.सं. १९९७ चैत १७ गते तल्लो कोप्चे धनकुटामा भएको हो । व्यापारको सिलसिलामा धरानमा करिब १८ वर्ष बसे । धरानको ब्रिटिस क्याम्प बन्द भएपछि त्यहाँको आर्थिक गतिविधिमा धेरै असर गर्यो । तर, धरान औद्योगिक क्षेत्रको स्थापना र बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान सुरु भएपछि केही राहत भयो । यी दुवै स्थापनाका लागि मलगायत धेरै व्यक्तित्वहरुले मेहनत गर्नु परेको थियो । सम्झँदा पनि आनन्द आउँछ ।’
उनले थपे आ ! कति कामको मात्र कुरा गर्नु म त कविता पनि लेख्छु ।
कविता ?
केही कविताहरु लेखेर राखेको छु । छपाउने विचार छ । हेरुँ के हुन्छ ?
तिनैमध्येका एक कविताको केही अम्स सुनाए ।

कोरिएका मात्र यहाँ रहन्छन्
यी नदी यी नाला यसै बहन्छ ।
तिमी हौ या नहौ फरक हुँदैन
यी साँझ यी बिहान यसै रहन्छ ।।

आफ्नो ठाउँ, आफ्नो माटोप्रतिको ममता र सत्कर्मबारे धेरै कविताहरु लेखेका छन् । उनै लोकेन्द्रले विराटनगरमै भएको एउटा कार्यक्रममा राखेको मन्तव्य अझ मार्मिक थियो । उनले भने, राम्रो काम गरे पछिसम्म रेकर्ड रहन्छ । यो शरीर त जलाए खरानी गाडे माटो । मैले बुझेको यही हो । अरु कुरा के गर्नु र ? ज्येष्ठ नागरिकरुलाई सम्मान गर्ने क्रममा मलाई पनि सम्झेर सम्मान गर्नु भएकोमा आयोजक संस्थालाई धन्यवाद ।’ भने विराटनगर–९ का लोकेन्द्रकुमार मल्लले । सम्मानपछिको उनको मन्तव्य समयको हिसाबमा मुस्किलले दुई मिनेटको थियो । तर, गहिराई धेरै किलोमिटर तलसम्म । लम्बाइ पर–परसम्म उचाइ माथि–माथिसम्म ।

उनले दुई मिनेटमै अटाए मनुष्यको जीवन, जगत, मृत्यु र मृत्युपछिको सम्झनाबारे । अटाए जन्मनुको सार्थकता । भनिन्छ नि जब मान्छे जन्मलिँदा उसँग सास हुन्छ तर नाम हुँदैन । र, जब मान्छेको मृत्यु हुन्छ तब उसँग नाम हुन्छ सास हुँदैन । यही सास र नामको बीचको यात्रालाई जीवन भनिन्छ । उनले भनेको जीवनको परिभाषा सुनेर सहभागीहरु मुखामुख गरे । सहभागी मध्येकै म आफैले मनमनै आफैलाई प्रश्न गरे । रेकर्ड रहने कुनै काम छ ? सरल शब्दमा पस्किए उनको आफ्नै जीवनको भोगाइ र सिकाइ । प्रस्तुतीकरण पनि उस्तै सरल । यस्तै व्यक्तिलाई सम्झेर लेखनाथ पौड्यालले लेख्या होला ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

मलाई उनका यिनै मर्मस्पर्धी शब्दले डोर्यायो उनको निवाससम्म । जहदा रोडस्थित न्यूरो अस्पतालको मूल गेटको ठिक उत्तरमा रहेको घर । घरको भूँइ तलाको कोठामा उनले विगतका सम्झना, अनुभव र अनुभूतिका पन्नाहरु एकपछि अर्को पल्टाउँदै गए । सरल भाषामा, सहज ढंगले ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.