विराटनगरमा प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओभित्र डेढ क्वीन्टल गाँजा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार ०८:१८

विराटनगर । विराटनगरमा सोमबार राति प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओ गाडीभित्र ठूलो परिणाममा लागुऔषध गाँजा भेटिएको छ ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट को २ च ७५९ नम्बरको स्कोरपिओलाई प्रहरीले राति ८ः४५ बजेतिर नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री दाहाललाई ठक्कर दिएर स्कोरपिओ भागेको हो ।

ठक्करबाट सामान्य घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओ लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले संयुक्त टोलीले पछि नियन्त्रणमा लिएको थियो । गाडीभित्र करिब डेढ क्वीन्टल गाँजा फेला परेको छ ।

नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको साइडमा ६ वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ सय ४६ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो । त्यसक्रममा प्रहरीलाई ठक्कर दिएको हो ।

स्कोरपिओभित्र गाँजा फेला परेपछि चालक सुनसरीको धरान उपमहानगरपालिका– १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा रानीका इन्सपेक्टर थापा नेतृत्वको टोलीले अनुसन्धानको थप प्रक्रिया अघि बढाउने छ ।

प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । कार चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियार पक्राउ परेका थिए । लागुऔषध गाँजा भारत कटाउने क्रममा प्रहरीले फेला पारेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.