
विराटनगर । समर्थकको झुन्डभित्र बसेर विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न बाटो खुलेको छ ।
विवादास्पद छविका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट बुधबार अनुमति लिएको हो । प्रसाईंले केही समयदेखि सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गरी अभिव्यक्ति दिइरहेका थिए । उनले प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न दलका नेतालाई समेत तुच्छ शब्द प्रयोग गरेर गाली गर्थे ।
तर, प्रसाईंलाई पक्राउ गर्न अनुमति लिनुपर्ने कारण भने अर्कै छ । प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै आधारमा काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीका अनुसार प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी हुनेमा प्रसाईं, बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल रहेका छन् । प्रहरीले तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने छ ।

























