उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

Share this
811shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार २०:३१

इटहरी । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच युवा उद्यमीलाई प्रोत्साहनका लागि सम्झौता भएको छ । मंगलबार सम्झौता भएको हो ।

रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताए । ‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’ रिजालले भने, ‘अहिलेको समयमा युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’

उनले युवा उद्यमीलाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाब सिर्जना गर्नुपर्ने जनाए ।

सम्झौता अनुसार उद्योग परिसंघले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतका भावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ् प्रालिद्दारा सञ्चालन प्रदेश खबर डट कममार्फत प्रकाशन गरिनेछ ।

एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारी र सस्थाका अध्यक्ष रिजालबीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको छ । अधिकारीले नयाँ र रचनात्मक काम गर्न चाहने युवाहरुलाई सहज हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.