
विराटनगर । विराटनगरमा आज (शुक्रबार)देखि ‘वीकेन्ड बजार’ सुरु हुँदै छ । विराटनगरको तीनटोलियास्थित बारी कफी क्लबमा दिउँसो ३ बजेदेखि बजार लगाइने भएको हो ।
भाजु–युवराज फाउण्डेसनले लगाउने बजार शनिबारसम्म चल्ने छ । राति ८ बजेसम्म बजार लाग्ने फाउण्डेसनका अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उनका अनुसार बजार लगाउनका लागि सबै तयारी पूरा भइसकेको छ ।
श्रेष्ठले प्रत्येक साता शुक्रबार र शनिबार बजार लगाउने दीर्घकालीन योजना रहेको सुनाए । नेपालमा उत्पादन भएका वस्तुको ‘ब्राण्डिङ’ र उत्पादनकर्तालाई प्रोत्साहन गर्ने योजना अनुरुप बजार लगाउने अवधारणा ल्याइएको उनको भनाइ छ ।
उनका अनुसार बजारमा कफी, गुन्द्रुक, इलामको चिज, एभोकाडो, बेकरी परिकार, लोकल चिप्सहरु, नेपाली सेलरोटी, आलुदम, यमरी, नेवारी खाजा, भक्कालगायतका दर्जनौं वस्तुहरु ‘स्टल’का रूपमा रहने छन् । नेपालमा उत्पादन भएका खानेकुरा र घरेलु वस्तुको बजारीकरण गर्ने उद्देश्य रहेको श्रेष्ठ बताउँछन् ।
घरमै विभिन्न खानेकुरा उत्पादन गरिरहेका महिलाहरुले पनि बजारमा ‘स्टल’ राखेर व्यापार गर्न सक्ने उनको भनाइ छ । ‘बजारमा उत्पादनकर्ताले आफ्ना उत्पादन सार्वजनिक गर्नसक्ने भए,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘उनीहरुको उत्पादनको विज्ञापनसँगै व्यापार पनि हुने भयो ।’
एउटा ‘स्टल’को २ दिनको २ हजार रूपैयाँ शुल्क लाग्ने छ । अहिलेसम्म २२ वटा ‘स्टल बुक’ भइसकेका छन् । ५० वटासम्म ‘स्टल’ राख्न सकिने श्रेष्ठले बताए ।



















