
विराटनगर । विराटनगर महानगरपालिका–१४ मा पुस ७ गतेदेखि उद्योग संगठन मोरङ आयोजना गर्न लागेको विराट एक्स्पोको तयारी थालिएको छ ।
उद्योग संगठनले विराटनगरको डिग्री कलेजको मैदानमा पुस ७ देखि १६ गतेसम्म विराट एक्स्पोको ८ औं संस्करण गर्न लागेको हो । पुसमा हुने एक्स्पोको तयारी थालेको उद्योग संगठनले जनाएको छ ।
संगठनको ५१ औं साधारणसभाका अवसरमा एक्स्पोको मासकट सार्वजनिक गरिएको थियो । संगठनले ‘डिजिटल कोशी, ब्रिजिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट’ भन्ने थिममा आधारित रहेर मासकट सार्वजनिक गरेको हो ।
मासकटमा रहेको रोबोटको चित्रले अब स्वचालित यन्त्रको प्रयोगलाई बढाउनुपर्छ र हामीले अटोमेसनलाई आत्मसात गर्नुपर्छ भन्ने हो ।
रोबोटले आफ्नो हातमा उद्योगको भवन बोकेको छ यसले डिजिटल प्रविधिमा आधारित कृषिजन्य उद्योगलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने बुझाउँछ भने शिरमा रहेको सगरमाथाको चित्र पर्यटन विकासको विम्बलाई जनाउने उद्योग संगठनले जनाएको छ ।
उद्योग संगठनले ०७९ साल पुसमा डिग्री कलेजमै एक्स्पो आयोजना गरेको थियो । एक्स्पोमा स्वदेश तथा विदेशमा उत्पादित वस्तु, कृषि उपकरण, सूचना प्रविधि, अटोमाबायल, औद्योगिक मेसिनेरी, रोजगार सूचना केन्द्र लगायतका करिब ४ सय स्टलहरु रहने छन् ।



















