
पोखरा । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि अहिले पोखरा तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि हस्तक्षेप गरेर अश्रुग्यास हान्नु परेको प्रहरीले जनाएको छ ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेका थिए । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर पोखरा लगेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी मुछिएका छन् । लामिछाने पक्राउ परेदेखि नै रास्वपा आन्दोलित छ । रास्वपाले राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।
लामिछाने पक्राउ परेयता रास्वपाले विरोध स्वरुप पोखरा, काठमाडौंलगायत विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक मंगलबार (आज) अदालत उपस्थित गराउने बेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा आक्रोसित बनेको भिडले निषेधित क्षेत्र तोड्न खोजेको थियो । भिडलाई नियन्त्रणमा लिएन ४ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी तितरवितर भएका छन् ।

























