कूलबहादुर तामाङ र मानु टुडू ।विराटनगर । जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका एक जना प्रतिवादीलाई मोरङ प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ लाटीझोडाका ३४ वर्षीय रामे तामाङ लामा भनिने कूलबहादुर तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार तामाङलाई जबरजस्ती करणी मुद्दामा अदालतले २०७३ साल असार २८ गते दोषी ठहर गरेको थियो ।
अदालतले दोषी ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरे पनि उनी पक्राउ परेका थिएनन् । कैद सजाय भुक्तान नगरिकन लामो सयमदेखि फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मंगलबार अदालतमा पेस गरेको छ । प्रहरीले बुझाएसँगै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सामूहिक बलात्कारका आरोपी पक्राउ
मोरङ प्रहरीले सामूहिक बलात्कार (सामूहिक जबरजस्ती करणी) घटनाका आरोपीलाई पनि पक्राउ गरेको छ । सामूहिक बलात्कारको घटनापछि फरार रहेका मोरङको जहदा गाउँपालिका–५ का २७ वर्षीय मानु टुडूलाई पक्राउ गरिएको डीएसपी जोशीले बताए ।
टुडू २०७६ साल मंसिर २८ गतेदेखि फरार थिए । उनीविरुद्धको मुद्दालाई जिल्ला अदालत मोरङले मुलतबीमा राखेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएका कारण अदालतले मुद्दा जगाएर थप प्रक्रिया अघि बढाउने सूचना अधिकारी बुढाथोकीले बताए ।
उनका अनुसार गोलामार्फत इजलासको टुंगो लगाएर बुधबार टुडूको बयान लिइने छ । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने जानकारी सूचना अधिकारी बुढाथोकीले दिए ।
उनका अनुसार बहस सकिएपछि टुडूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी रकम लिएर वा साधारण तारेखमा छाड्ने भन्ने एउटा आदेश इजलासबाट आउँछ ।

























