मोरङमा दोषी ठहर भएका ३ जना फरार प्रतिवादी पक्राउ

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २१, बुधबार २२:५१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङले विभिन्न मुद्दामा दोषी ठहर गरेका तीन जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना वृद्ध पनि छन् ।

मोरङको कटहरी गाउँपालिका–२ का ७० वर्षीय भगत मुखिया, कटहरी–१ का ४५ वर्षीय सन्तोष राजवंशी र पथरीशनिश्चरे नगरपालिका–९ का १९ वर्षीय खोमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अदालतले दोषी ठहर गर्दै जरिबाना तथा कैदको सजाय सुनाए पनि उनीहरु पक्राउ परेका थिएनन् ।

वृद्ध मुखियालाई जिल्ला अदालत मोरङले जालसाज मुद्दामा २०८० साल माघ ४ गते १ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको जोशीले बताए । उनका अनुसार राजवंशी चेक अनादर मुद्दामा २ हजार ५ सय रूपैयाँ जरिबाना तोकिएका प्रतिवादी हुन् ।

नकबजनी चोरी मुद्दाका प्रतिवादी खोमबहादुरलाई चैं अदालतले जरिबाना र कैद दुवै सजाय तोकेको छ । अदालतले गत असार ९ गते ३० हजार रूपैयाँ जरिबाना र २ वर्ष ११ महिना ७ दिन कैद सजाय हुने फैसला गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई प्रहरीले बुधबार नै अदालतमा पेस गरेको छ । अदालतले जरिबान तोकिएकासँग त्यसबापतको रकम लिएको छ । कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.