
विराटनगर । स्थानीय तहको आगामी उपनिर्वाचनलाई लक्षित गर्दै मोरङको ग्रामथान गाउँपालिकामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले ग्रामथानको तेतरियामा कार्यालयको उद्घाटन गरेका हुन् । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफलसमेत राखेका छन् । निर्वाचनमा भाग लिने सबै दल सहभागी छलफलमा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।
राजनीतिक दलका नेताहरुले पनि निर्वाचनलाई भयरहित हिसाबले सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम आगामी मंसिर २ गतेबाट सुरु हुने जानकारी दिए ।
निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारको मनोनयन गर्ने समय तोकेको छ । उम्मेदवारी दर्ता बिहान १० बजेबाट सुरु हुने छ । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक विषयका बारेमा जानकारी दिएका छन् । मोरङको ग्रामथानमा ७ वटा वडा छन् । २६ हजार ४४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ को निर्वाचनबाट ग्रामथानको अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएको थियो । उनको निधनसँगै रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मुलुकभर ४४ पदका लागि उपचुनाव हुने भएको हो । उपनिर्वाचन हुने स्थानहरुमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

























