
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ का ६१ वर्षीय मंगलु सरदारको खेतमा धान पाकेर पहेंलपुर भएको छ ।
प्रत्येक दिन परिवारका सदस्यसहित खेतमा पुग्छन् । दिनभर धान काटेर फर्कन्छन् । केही दिनयता उनको दैनिकी यसरी नै बितिरहेको छ । गाउँमा चुनाव आउँदैछ भन्ने पनि थाहा छ । तर, त्यो चुनावले उनलाई छुन सकेको छैन ।
चुनावभन्दा पनि वर्षभरि भात खाने धान थन्क्याउने चिन्ता उनलाई छ । ‘चुनाव त लाग्यो । तर, हामीलाई धान थन्क्याउन भ्याइ नभ्याइ छ । पाकेको थान बेलैमा काटेन भने थन्क्याउन पाइँदैन कि भन्ने तनाव छ । चरा र मुसाले सक्न लाग्यो । मौसमले साथ दिएन भने हाम्रो त बिल्लीबाठ हुन्छ । काम छाडेर चुनावमा जाने कुरा पनि भएन,’ उनले भने ।
अर्कोतर्फ दिन धुम्म हुन थालेकाले पनि धान थन्क्याउन पाइँदैन कि भन्ने पिरलो रहेको मंगलु सुनाउँछन् । ‘दिन धुम्म हुँदैछ । केही दिनदेखि राम्ररी घाम लागेको छैन । खेतभरि धान काटेर छाडेका छौं । पानी पर्यो भने सबै भिजाइदिन्छ । हाम्रो मिहिनेत त्यत्तिकै खेर जान्छ । अहिले अरु कुरालाई वास्ता नगरिकन धान थन्क्याउनु छ,’ उनले भने ।
ग्रामथानकै ठकनीदेवी सरदारलाई पनि चुनावको वास्ता छैन । ‘हुन त हाम्रै जनप्रतिनिधि छान्नु पर्ने हो । राम्रो मान्छेलाई जनप्रतिनिधि बनाउनुपर्छ भन्ने पनि हो । चुनाव लाग्यो । तर, धान थन्क्याउने हतारोले अरु कुरामा ध्यान दिन पाएकै छैन,’ उनले भनिन् ।
धान थन्क्याइसकेपछि मात्रै चुनावतिर ध्यान दिन सकिने उनी सुनाउँछिन् । ठकनीदेवी आफ्नो र गाउँको पीडा बुझिदिने नेताले चुनाव जितोस् भन्ने पक्षमा छिन् । वर्षा भयो भने पाकेको बालीलाई नोक्सान पुर्याउने डरले आकाश हेर्दै धान भित्राउनुपर्ने समस्यामा आफूहरु रहेको उनले बताइन् । उनका अनुसार उम्मेदवार भोट माग्न खेतमै आइरहेका छन् ।
मंगलु र ठकनीदेवी मात्रै हैन, ग्रामथानका किसान अहिले धान बाली भित्राउन निक्कै व्यस्त छन् । गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारलाई भने भोट माग्ने चटारो छ । तर, मतदातालाई भने बाली थन्क्याउने हतारो छ ।
मौसम प्रतिकूल भइदियो भने वर्ष दिनभरि खाने धान स्वाहा हुन्छभन्ने चिन्ता उनीहरु छन् । कृषकको अहिले मानो खाएर मुरी भित्राउने मुख्य सिजन हो । त्यसैले धेरैजसो मतदाता खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानहरु अब चुनाव जित्नेले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँछन् ।
गाउँमै रोजगारीको सिर्जना गर्नेदेखि स्थानीयका पिरमर्का र गाउँका समस्या बुझिदिने व्यक्तिले चुनाव जित्नुपर्ने ग्रामथानको तेतरियाका भेषराज पराजुलीले बताए । उनका अनुसार पछिल्लो समय नेताहरु अनेक अनियमिततामा मुछिने गरेका छन् । तर, अबको निर्वाचनबाट गाउँको समस्या बुझिदिने र असल नेता चुनिनुपर्ने पराजुली बताउँछन् ।
समाज र जनताका लागि काम गर्ने नेताको खाँचो रहेको उनको भनाइ छ । ‘अब नागरिक सचेत भइसकेका छन् । जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो । अब भाषण सुनेर भोट हाल्ने जमाना गए,’ पराजुली भन्छन् ।
?कतचयलनश्रखेतमै पुगेर मत माग्छन् उम्मेदवार?रकतचयलनश्र
ग्रामथानमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्ती–बस्ती र कृषकका खेतबारीमा पुगिरहेका छन् ।

उम्मेदवार तथा नेता कार्यकर्ताले प्रचार सामग्रीसहित खेतमै पुगेर भोट माग्ने गरेका हुन् । ग्रामथान किसानहरुको बसोबास बढी भएको पालिका हो । कामको मुख्य याम भएकाले यतिबेला कृषकलाई पाकेको धान थन्क्याउन भ्याइ नभ्याइ हुनु स्वभाविक नै हो ।
उम्मेदवार भने आआफ्नो एजेन्डासहित मतदातालाई फकाउन व्यस्त छन् । खेतमै पुगेर मत दिँदै आफूलाई जिताउन आग्रह गर्छन् । खेतमै पुगेर भोट माग्नेमध्येका एक हुन् नेकपा ९एमाले०बाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार तुलसीराम विश्वास ।
एमाले ग्रामथानको उपाध्यक्षसमेत रहेका उनले चुनाव लक्षित घरदैलोलाई तीव्र पारेका छन् । त्यस क्रममा शुक्रबार खेतमै पुगेर भोट मागिरहेको भेटिए । ‘चुनाव आइसकेकाले घरदैलोमा व्यस्त छु । हाम्रो गाउँपालिकामा कृषि पेशामा आवद्ध भएकाहरुको बसोबास धेरै छ,’ विश्वासले भने, ‘कामको पनि सिजन भएकाले अधिकांश मतदाता खेतबारीमै भेटिन्छन् । आफ्नो एजेन्डासहित खेतमै पुगेर भोट माग्ने गरेको छु । मतदातालाई विश्वासमा लिइरहेको छु ।’
चुनावी अभियानका क्रममा आफूले मतदाताको समस्या नजिकबाट नियाल्न पाएको उनले सुनाए । ‘यहाँका कृषकले सधैं बिउ, मलदेखि सिँचाइसम्मका समस्या भोगिरहेका छन् । शिक्षादेखि स्वास्थ्यका समस्या त छँदै छन् । मैले चुनाव जितेपछि सबै समस्याको समाधान गर्नेगरी काम गर्छु । नयाँ ढंगले जनताका पक्षमा काम गर्ने योजना बनाएको छु । कृषकको पीडा मैले नजिकबाट बुझेको छु,’ विश्वासले भने ।
ग्रामथानको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा ९माओवादी केन्द्र०बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दिनेशकुमार थन्दार ९दिवेश०, नेकपा ९एकीकृत समाजवादी०बाट दिलबहादुर विक उम्मेदवार छन् । उनीहरु आआफ्नो एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् ।
उनीहरु सबै ग्रामथानमा भिजेका उम्मेदवारहरु हुन् । उम्मेदवार विकास निर्माण, भ्रष्टाचारको अन्त्य, शैक्षिक र स्वास्थ्य क्षेत्रको उन्नयन, खानेपानी, पूर्वाधारदेखि लघुवित्तका समस्या समाधानलगायतका एजेन्डा लिएर मतदातामाझ गइरहेका छन् । सबै उम्मेदवारले गाउँका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका हुन् ।
किसानको व्यस्त समयका बाबजुद उनीहरु खेतमै पुगेर मत मागिरहेका छन् । फकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने ध्याउन्नमा उनीहरु केन्द्रित भएका हुन् । जसरी पनि चुनावको नतिजा आफ्नो पक्षा पार्न कम्मर कसेर लागेका छन् ।
२०७९ सालमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएसँगै ग्रामथानमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।


























