
विराटनगर । आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारलाई मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ ।
आयोगले दिएको समय सुरु भएसँगै मनोनयन दर्ताका लागि विभिन्न दलहरु आआफ्ना उम्मेदवार लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रम सुरु भएको छ । निर्वाचन आयोगले तोकेको योग्यता पुगेका राजनीतिक दलबाट उठ्ने तथा स्वतन्त्र उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सक्ने छन् ।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपचुनाव हुने छ । मनोनयनको समय सकिएपछि साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ ।
यसैबीच, मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुलाई अलगअलग समय दिएको छ । कार्यालयले दिएको सयय अनुसार दलका उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्ने छ ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मनोनयन दर्ताका लागि जनमत पार्टीका लागि १०ः३० बजे , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ११ बजे, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई ११ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १२ बजे तथा मंगोल नेशनल अर्गनाइजेसनलाई १२ः३० बजेको समय दिइएको छ । उम्मेदवारी दर्ताका लागि नेकपा (एमाले)लाई १ बजे नेपाली कांग्रेसलाई २ बजे, नेकपा (माओवादी केन्द्र)लाई २ः३० बजे, नेकपा (एकीकृत समाजवादी)लाई ३ बजे, र समावेशी समाजवादी पार्टीलाई ४ बजेको सय तोकिएको पौडेलले बताए ।
दलका लागि निर्धारण गरिएकोबाहेक अन्य समयमा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरिने उनको भनाइ छ । ग्रामथानको अध्यक्षमा एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादीका नमोनारायण माझी, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा रास्वपाका नवीनकुमार विश्वास र राप्रपाका दिनेशकुमार (दिवेश) थन्दारको उम्मेदवारी पर्ने छ ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । यसअघि २०७९ मा कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भयो । उनको निधनसँगै रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

























