हरि कट्टेलको ‘बिलौनै बिलौना’ विमोचन 

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ८, शनिबार १९:०७

विराटनगर । साहित्यकार हरि कट्टेलको ‘बिलौनै बिलौना’ कवितासङ्ग्रह विमोचन भएको छ । यो कविता सङ्ग्रह कट्टेलको आठौं कृति हो ।

दोस्रो संस्करणको रूपमा प्रकाशित कृतिको विमोचन पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द बाटिका, नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा गरिएको हो ।

कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्रा‍.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा.हरिहर भण्डारी, सोमराज अभय, आयोजक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल लगायतले संयुक्त रूपमा विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक निर्मला कोइरालाले समीक्षा गरेकी थिइन् । उनले कवि किशोरावस्थामा प्रवेश गरेको बखत २०४५ सालमा यो कृतिको पहिलो संस्करण प्रकाशित भएको बताइन् । सङ्ग्रहभित्रका कविताहरू पढ्दा कविको युगचेत र कवित्व सशक्त र परिपक्व देखिएको बताइन् ।

कविताहरूमा कलात्मक ढङ्गले जन्मस्थान सोलुखुम्बुको माटो र प्रकृति, जन्मदिने आमा र जन्मिएको देशप्रति अगाध आस्था वकालत गरिएको चर्चा गरिन् । सो अवसरका साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।

प्रमुख अतिथीसमेत रहेका प्राध्यापक कविराज न्यौपानेले  सङ्ग्रहित कविताहरूले एक युगको प्रतिनिधित्व गर्न सक्ने बताए । प्रा.डा. हरिहर भण्डारीले संग्रहभित्रका कविताहरूको भावमा सघनता, अभिव्यक्तिमा सूत्रात्मकता र सारमा स्तरीयता देखिएको बताए ।

साहित्यकार बलराम पोखरेलले कृतिकारलाई लेखनमा निरन्तरता दिन आग्रह गरे । प्राज्ञ विवश पोखरेलले कृतिको प्रशंसा गर्दै धेरै वर्षपछि पनि कवि हरि कट्टेलका कृतिहरू पाठकहरूले खोजी खोजी पढ्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.