कोशी प्रदेश : उपचार सहयोगका लागि ३२४३ निवेदन दर्ता, ९ करोड बजेट पुगेन

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार १४:०८

विराटनगर । कोशी प्रदेशमा कडा रोगको उपचार सहयोग माग गर्दै तीन हजार बढीले निवेदन दिएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयमा ३ हजार २४३ जनाले उपचार सहयोग माग गर्दै निवेदन दिएका हुन् । तर सरकारले कडा खालका रोगीका लागि उपचारका लागि सहयोग हस्तान्त्रण गर्न सकेको छैन ।

कडा खालको रोगीको उपचारका लागि सरकारले गत वर्ष ५० हजारका दरले सहयोग रकम उपलब्ध गराएको थियो । गत वर्ष सरकारले पाँच करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षका लागि पनि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर उपचार सहयोगका लागि निवेदन दिनेको संख्या ३ हजार २४३ भएका कारण सरकारले सहयोग रकम बाड्न सकेको छैन ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कडा खालका रोगीका लागि सहयोग रकम हस्तान्त्रणका लागि थप बजेट माग गरिएको बताए । उनका अनुसार निवेदन दिएकाहरुलाई ५० हजारले सहयोग रकम वितरण गर्नका लागि १४ करोड हाराहारी बजेट चाहिन्छ । ५ करोड मात्रै बजेट विनियोजन भएका कारण थप ९ करोड बजेट सुनिश्चित गरेर उपचार सहयोग वितरण गर्ने उनले बताए ।

कोशी प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटु रोगलगायत कडा रोगीलाई ५० हजार रुपैयाँका दरले गत वर्ष सहयोग वितरण गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा ३ हजार २४३ निवेदन मध्ये मन्त्रालयले ५१५ जनालाई सहयोग वितरण गर्ने निर्णय गरिसकेको छ । २ हजार ७३४ वटा निवेदनको भुक्तानी बाँकी छ । प्रदेशकाे स्थायी बासिन्दालाई सरकारले  उपचार सहयाेग वितरण गर्दै आएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×