
काठमाडौं । नक्कली भ्याटबिलसँग सम्बन्धित १० वटा मुद्दालाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
नेपाल ल्युब आयल र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडा जोडिएको नक्कली भ्याटबिलको मुद्दा पूर्ण इजलासमा पठाउन न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले आदेश दिएको हो । आदेशसँगै अब मुद्दाको सुनुवाइ तीनजना वा सो भन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा हुने छ ।
सर्वोच्चले गत मंसिरमा मात्रै झुटा वा नक्कली बिलबिजक बनाएको तथ्य अदालतबाटै पुष्टि भएपछि जालसाजी गरेको अर्को प्रमाण खोजिरहन नपर्ने भनी नजीर प्रतिपादन गरेको थियो । त्यतिबेला झुटा बिलबिजक बनाएर आयकर कट्टाको दाबी लिएको अवस्थामा उक्त बिलबिजक नक्कली भएपछि अरु प्रमाण खोजिरहन नपर्ने भनी व्याख्या भएको थियो ।
नक्कली भ्याटबिल प्रकरणमा मुछिएका कम्पनीहरूले विभिन्न सामान खरिद गरेको भनी नक्कली फर्म र कम्पनीहरूका बिल पेस गरेका थिए । पछि उनीहरूले आफूले सामान ल्याएका ती फर्म र कम्पनी देखाउन सकेनन् । करिब १३ वर्षअघि नक्कली भ्याटबिलको विषयमा अनुसन्धान हुँदा ५ सय १८ वटा कम्पनी संलग्न भएको खुलेको थियो ।
त्यतिबेला ३ अर्ब ७ करोड भ्याट, ३ अर्ब ३३ करोड आयकर र २० करोड ५० लाख रुपैयाँ अन्तःशुल्क गरी कूल ६ अर्ब ५९ करोड रुपैयाँ कर र जरिबाना निर्धारणसँग जोडिएका कर विवादहरू राजस्व न्यायाधीकरण हुँदै सर्वोच्च अदालतसम्म पुगेका हुन् । तीमध्येका १० वटा मुद्दामा निर्णय सुनाउने मिति बिहीबारका लागि तोकिएको थियो । अब पूर्ण इजलासबाट सुनुवाइ हुने छ ।



















