
विराटनगर । सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिजका २ नयाँ मोडलका मोटरसाइकलको बिक्री सुरु गरेको छ ।
एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको हिरो मोटरसाइकलको विराटनगरस्थित आधिकारिक बिक्रेता लक्ष्मी ट्रेडिङ हाउसले बिक्रीवितरणको सुरुवात गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, वाणिज्य महासंघ कोशीका कोषाध्यक्ष सुवास आचार्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकलगायतले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरे ।
लक्ष्मी ट्रेडिङका प्रबन्ध निर्देशक सन्तोष सिग्देलले हिरो मोटरसाइकल कम्पनीले २ वटा नयाँ आकर्षक मोडललाई बजारमा ल्याएको छ । उनले यो नयाँ मोडलका मोटरसाइकल ग्राहकले धेरै मन पराएको बताए ।
सीजी कम्पनीका मार्केटिङ म्यानेजर विक्रम पौडेलले एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा विश्वस्त रहेको बताए ।
सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।
त्यस्तै एबीएस भेरियन्टका लागि भने ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

























