मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १८:००

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा मंसिर ५ देखि ८ गतेसम्म पर्यटन, संस्कृति र साहित्यलाई जोडेर ‘चिचिला महोत्सव’ आयोजना हुने भएको छ ।

स्थानीय पहिचानको प्रवर्धनसँगै पर्यटकीय सम्भावनाको उजागर गर्ने लक्ष्यसहित गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवले चिचिलाको प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षणलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीबारे जानकारी दिँदै स्थानीय कला, संस्कृति, परम्परा र आर्थिक गतिविधिलाई एउटै उत्सवमा जोड्न खोजिएको बताए ।

महोत्सवमा स्थानीय कृषकका कृषि उपज, खाद्यान्न, पशुपन्छीजन्य उत्पादन तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् । स्थानीय उत्पादनका ३० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । शेर्पा, राई, गुरुङलगायत समुदायका मौलिक परिकारको स्वाद लिन पाइने गरी फुड फेस्टिभलसमेत सञ्चालन हुनेछ ।

चार दिनसम्म चल्ने महोत्सवमा मनोरञ्जनसँगै साहित्य र सांस्कृतिक प्रस्तुतिलाई पनि प्राथमिकता दिइएको छ । गायक राजेश पायल राईसहित विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । स्थानीय मौलिक संस्कृति झल्कने खुला नृत्य प्रतियोगिता, पालिकास्तरीय खुला भलिबल प्रतियोगिता र मत्स्यपोखरीसहित गाउँपालिकाका पर्यटकीय स्थल समेटिएको फोटो प्रदर्शनी पनि महोत्सवका आकर्षण रहनेछन् ।

साहित्यिक कार्यक्रमतर्फ नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)सहित कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकार सहभागी हुनेछन् । उनीहरूका साहित्यिक प्रस्तुति तथा सिर्जनामार्फत महोत्सवलाई सांस्कृतिक र बौद्धिक विमर्शको साझा थलो बनाउने आयोजकको तयारी छ ।

महोत्सवका लागि कोशी प्रदेश सरकारले १५ लाख र चिचिला गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका छन् । कुल २५ लाख रुपैयाँको लागत साझेदारीमा महोत्सव सञ्चालन हुनेछ । हेल्भेटास नेपालको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले टेन्ट, स्टेज र फोटो प्रदर्शनीका सामग्री व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ ।

प्राकृतिक सम्पदा, स्थानीय उत्पादन, जातीय विविधता र सांस्कृतिक मौलिकतालाई पर्यटनसँग जोडेर चिचिलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.