
विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको ‘विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा इन्भेष्टमेन्ट’को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
विराटनगरस्थित डिग्री कलेजमा माघ १२ देखि २० गतेसम्म हुन लागेको ८ औं विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले ओली गर्ने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
उनले एक्स्पो माघ ११ गतेदेखि हुने भए पनि एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागि केही प्र्राविधिक विषय व्यवस्थापनका कारण उद्घाटन कार्यक्रमलाई एक दिनपछि सार्नु परेको बताए ।
युवा उद्यमशिलता प्रवर्धनमा ध्यान दिँदै यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ ।
उद्यम तथा व्यवसायका लागि संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागि रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेशनलाई झल्काउने थिमेटिक फेशन शो हुनेछ ।
त्यस्तै, दैनिक विद्यार्थीहरुका लागि उद्यमशिलता माइन्डसेट सम्बन्धी प्रशिक्षण कार्यशाला, कफी सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफी टेष्टिङ, दैनिक सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम हुने छन् ।

























