
विराटनगर । विराटनगरमा आयोजना हुने विराट एक्स्पोमा घरेलु तथा साना उद्योग र स्टार्टअप उद्योगका लागि छुट्टै प्लेटफर्मको व्यवस्था गरिएको छ ।
साना उद्योगका लागि बजार खोजी गर्न आठौं चरणको विराट एक्स्पोले डिग्री क्याम्पसको मैदानमा १० दिन सम्म विराट बजार बिटुवि प्लेटफर्मको व्यवस्था गरेको हो ।
प्लेटफर्ममा घरेलु तथा साना उद्योग र स्टार्टअप उद्योगदेखि ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसँग व्यवसायीक सम्बन्ध स्थापित गराउनेदेखि अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्नका लागि सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।
यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी तयार गरिएको संगठनको दावी छ ।
प्लेटफर्म मार्फत बजार प्रवर्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

























