
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिबीच बढेको विवाद उत्कर्षमा पुगेको छ ।
उपनिर्वाचनबाट ग्रामथानको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएपछि जनप्रतिनिधिबीच विवाद चुलिएको हो । अध्यक्ष नमोनारायणविरुद्ध अरु जनप्रतिनिधि १ ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले अध्यक्ष एकलौटी एवं मनपरी रूपमा अघि बढ्न खोजेको आरोप लगाए ।
विराटनगरमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरुले अध्यक्षको गलत रवैयाको सिकार सिंगो गाउँपालिका भइरहेको गुनासो गरे । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारु, वडाध्यक्षहरु सुरेशकुमार माझी, यादव खतिवडा, भेषनारायण चौधरी, वीरेन्द्र चौधरीलगायतका जनप्रतिनिधिले पत्रकार सम्मेलनमार्फत अध्यक्षको शैलीप्रति आपत्ति जनाएका छन् । उनीहरु कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
ग्रामथान–१ का वडाध्यक्ष सुरेशकुमार माझीका अनुसार आफूले चाहेको व्यक्तिलाई गाउँपालिका अध्यक्ष नमोनारायणले लोहोन्द्रा खोलाको ठेक्का दिलाउन खोजेका थिए । तर, अरु जनप्रतिनिधिले साथ दिएनन् । आफ्नो योजनाअनुसार अघि बढ्न नपाएपछि उनी अराजक शैलीमा प्रस्तुत भइरहेको र अरु जनप्रतिनिधिलाई अपमान गर्ने गरेको सुरेशले बताए ।
हुन त नमोनारायण यसअघि पनि माटो तस्करीको विवादमा मुछिएका थिए । माटो तस्करी रोक्न प्रहरीलाई पत्राचार गरेकै कारण उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरणसमेत सोधे । उपाध्यक्षसहितको टोलीले अनुगमन गर्दा माटो तस्करी भइरहेको देखेर रोक्नका लागि प्रहरीलाई पत्राचार गरिएको कर्मचारीहरु बताउँछन् ।
आफूलाई साथ नदिएपछि नमोनारायणले मंगलबार उपाध्यक्ष गुणवती चौधरीसहितका जनप्रतिनिधिले चढ्दै आएको गाडी र मोटरसाइकल खोसेका छन् । वडाध्यक्ष सुरेशकुमार माझीको घरमै पुगेर उनले मोटरसाइकल कब्जामा लिए । अध्यक्षले माओवादी कार्यकर्ता लगाएर गुण्डागर्दी शैलीमा सवारीसाधन नियन्त्रणमा लिएको गुनासो जनप्रतिनिधिको छ ।
गाउँपालिका अध्यक्ष नमोनारायणले सवारीसाधन फिर्ता गर्न जनप्रतिनिधिलाई पत्र नै पठाए । केही जनप्रतिनिधिको गाडी तत्कालै खोसे । फिर्ता नगर्नेको भेटिएकै ठाउँबाट नियन्त्रणमा लिन थाले ।
‘जनप्रतिनिधिले प्रयोग गर्दै आएका सवारीसाधन माओवादी कार्यकर्ता र प्रहरी लगाएर जबरजस्ती घर, कार्यालय र बाटोबाटै खोसेर लैजाने काम भएको छ । गाउँसभा तथा परिषद्बाटै पारित गरेर जनप्रतिनिधिले सवारीसाधनको सुविधा लिएका हौं,’ सुरेश भन्छन्, ‘व्यक्तिगत स्वार्थ र एजेन्डामा जबरजस्ती सहमति गराउन खोज्दा हामीले मानेनौं । त्यो रिस अरु जनप्रतिनिधिमाथि पोख्ने काम भइरहेको छ ।’
गाउँपालिका उपाध्यक्ष गुणावतीले ‘म अध्यक्ष र स्थानीय सरकार हुँ, पालिका मेरो हो’ भन्दै जेपनि गर्न सक्ने धम्की गाउँपालिका अध्यक्षले दिने गरेको बताइन् । कार्यपालिका बैठकमा धम्की दिने र बहुमतको कदर नगर्ने काम अध्यक्षले गरिरहेको उनको भनाइ छ । निर्णयार्थ पेस गरेका एजेन्डाहरु पास नहुँदा अध्यक्ष नमोनारायण अमर्यादित ढंगले प्रस्तुत हुने र अवैधानिक गतिविधि गर्ने गरेको गुणावती बताउँछिन् ।
उनका अनुसार कार्यपालिकाको बैठकका निर्णयहरु कार्यपालिका सदस्यलाई ३ दिनभित्र दिनुपर्ने कानुनी व्यवस्थाको उल्लंघन अध्यक्षले गरिरहेका छन् । ‘अध्यक्षले जनप्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तिहरुलाई निरन्तर अपमान गर्ने गरिरहेका छन्,’ उनले भनिन् ।
ग्रामथान–७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता वीरेन्द्र चौधरी अध्यक्षले शिक्षा र पोषण सम्बन्धी पुरानो समिति विघटन गरी एकलौटी निर्णयबाट नयाँ समिति बनाएको बताउँछन् । संघीय सरकारको २ करोड ७५ लाखको बहुपोषण क्षेत्रीय कार्यक्रमका लागि बनाइएको समितिमा रहेकालाई निकालेर अध्यक्षले मनोमानी हिसाबबाट आफूनिकटलाई समितिमा राखेको उनको भनाइ छ ।
उक्त कार्यक्रमको समितिमा चनरदेवी मुसहर र श्यामवतीदेवी थारु खाँ थिए । तर, अरु जनप्रतिनिधिलाई नसोधिकन उनीहरुलाई हटाएर अध्यक्षले सुमनकुमारी चौधरी र गोमा महलदारलाई समितिमा राखेको वीरेन्द्र बताउँछन् ।
उनका अनुसार अध्यक्ष माझी निर्वाचित भएर आएदेखि नै आफूनिकट व्यवसायीलाई लोहोन्द्रा खोला ठेक्का दिन खोजेका थिए । तर, गुणावती कार्यवाहक अध्यक्ष हुँदा नै उक्त खोला ३ करोड १५ लाखमा ठेक्का लागिसकेको र सम्झौता हुन मात्रै बाँकी रहेको वीरेन्द्रको भनाइ छ । उपनिर्वाचनपछि ठेक्का सम्झौता गर्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए ।
लामो समयसम्म कार्यपालिका बैठक नबोलाएका अध्यक्षले अहिले आएर ‘ठेक्का बदर गरौं’ भन्दै आफूनिकटलाई खोला जिम्मा लगाउन खोजिरहेको अरु जनप्रतिनिधिहरु बताउँछन् । खोलाको ठेक्काको विषयमा कुरा नमिलेपछि जनप्रतिनिधिबीच विवाद सुरु भएको हो । लामो समयसम्म बैठक नबोलाएर कार्यपालिकालाई अनिर्णयको बन्दी बनाएको जनप्रतिनिधिको गुनासो छ ।
ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडा गाउँपालिका अध्यक्षले मनोमानी गरिरहेको बताउँछन् । उनका अनुसार अध्यक्ष तानासाही बनेकाले गाउँपालिकामा समस्या सिर्जना भएको छ । ‘गाउँपालिकाको विकासका लागि हामी मिलेर जान तयार छौं । तर, उहाँ मनपरी ढंगले अघि बढ्न खोज्नु हुन्छ । अवैधानिक काममा साथ दिन सकिँदैन,’ यादवले भने, ‘कार्यपालिका बैठकमा अरुलाई बोल्न नदिने, बोल्न खोज्दा बैठकबाटै निकाल्न खोज्नेजस्ता अराजक शैली अपनाइन्छ । त्यो गलत हर्कत रोकिनुपर्छ । अरु जनप्रतिनिधिमाथि गरिएको अपमान सहन सक्दैनौं ।’
उनका अनुसार अध्यक्ष नमोनारायणले गाउँपालिकालाई विकृति र विसंगतिको बाटोतर्फ डोर्याउने काम गरिरहेका छन् । अध्यक्षको मनोमानीविरुद्ध कानुनी उपचारमा जानलाई परामर्श गर्ने काम भइरहेको खतिवडाले बताए । ‘प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय भइरहेको छ,’ उनले भने ।
अध्यक्ष नमोनारायणले माघ ३० गते कार्यपालिका बैठक बोलाएर गणपुरक संख्या नपुगी विभिन्न निर्णय गरेका थिए । उक्त बैठक कानुनविपरित रहेको दाबी गर्दै गाउँपालिकाकी उपाध्यक्ष गुणवतिदेवी थारूसहित कार्यपालिकाका ८ जना सदस्यले फागुन ४ गते उच्च अदालत विराटनगरमा रिट दायर गरे ।
उच्चले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र राजेन्द्र अधिकारीको संयुक्त इजलासले अध्यक्ष माझीले एकपक्षीय रूपमा गरेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको हो । आफूले गरेको निर्णयविरुद्ध अदालतमा रिट परेपछि नमोनारायण उपाध्यक्षसहितका जनप्रतिनिधिसँग क्रुद्ध बनेका छन् ।
अध्यक्ष नमोनारायणले भने आन्तरिक स्रोतले धान्न नसक्ने भएकाले जनप्रतिनिधिको गाडी फिर्ता लिएको । पत्र नै पठाएर गाडी फिर्ता लिएको उनको भनाइ छ । माझीले आफू पनि सरकारी गाडी नचढ्ने बताए ।
‘कर जनताले तिरेका हुन् । जनताको काम नगर्ने अनि सुविधा मात्रै लिन खोज्ने त भएन नी । आन्तरिक स्रोत जुटाउन काम नगर्नेले सुविधा लिन मिल्दैन । गाउँपालिकाकलो गरेको निर्णयविरुद्ध उच्च अदालत जाने काम भयो,’ नमोनारायण भन्छन् ।
























