राष्ट्रिय हक्की यसै साता

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १५:४५

काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता ललितपुरमा हुने भएको छ ।

नेपाल हक्की संघले आइतबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हाे ।

पत्रकार सम्मेलनमा संघकी महासचिव सुवर्ण श्रेष्ठले वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको जानकारी गराइन् ।

उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा अहिले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको बताइन् ।

पूर्वाधारको डिपिआरसमेत तयार भइसकेको र सोचेअनुरूप काम अगाडि बढे २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने महासचिव श्रेष्ठले भनिन् ।

प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ । पुरुषमा ८ तथा महिलामा ४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा मधेस प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको सहभागिता रहने छ ।

एपीएफ हक्कीमा नयाँ टिम रहेको आयोजकले जनाएको छ । पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ ।

महिलामा सहभागी हुने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोबिन लिगपछि शीर्ष २ स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष ३ स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलामा २५ लाख खर्च हुने आयोजक संघका सचिव असिम शर्माले जानकारी  गराए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.