सप्तकोशीमा कसरी बेपत्ता भए ‘दक्ष’ गोताखोर ?

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ २३, शुक्रबार १९:१६

विराटनगर । सशस्त्र प्रहरीका २ जना गोताखोर उद्धार अभ्यासकै क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भए । १ जना मृत फेला परेका छन् । अर्का १ जना यो समाचार तयार पार्दासम्म भेटिएका छैनन् ।

सशस्त्रका जवानहरु हरदेव सिंह राजवंशी र सुरज साउद शुक्रबार बेपत्ता भएका हुन् । झापा घर भएका राजवंशीको शव घटनास्थलबाट करिब २ किलोमिटर तल फेला पर्यो । डोटीका साउदको भने अत्तोपत्तो छैन । नदीमा डुबेको २४ घण्टाभन्दा बढी भइसकेका कारण उनी जीवितै भेटिने सम्भावना कम रहेको सशस्त्र प्रहरीको भनाइ छ ।

गोताखोर टिममै दक्ष एवं अनुभवी मानिएका राजवंशी र साउद उद्धार अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता भएपछि सशस्त्र प्रहरी मात्रै नभए सिंगो सुरक्षा संयन्त्र स्तब्ध बनेको छ । दुवै जना विभिन्न ठाउँमा उद्धारमा सहभागी भएर मानिसको ज्यान बचाउन सफल भएका गोताखोर हुन् । तर, अहिले उनीहरु नै सहभागी भएको उद्धार अभ्यासका क्रममा दुःखद् घटना हुन पुग्यो ।

‘दुवै जना तालिम प्राप्त दक्ष गोताखोर हुन् । आफ्नो ज्यान जोखिममा राखेर उनीहरुले ठुल्ठूला उद्धार गरिसकेका थिए,’ सशस्त्र प्रहरी बलका पूर्वडीआईजी नगेन्द्र थापा भन्छन्, ‘तर, अहिले आएर दुर्भाग्यपूर्ण घटना भयो । यसले सिंगो संगठनलाई ठूलो क्षति पुगेको छ ।’ थापाले संगठनले मात्रै नभएर राष्ट्रले होनहार गोताखोर गुमाउनु परेको बताए । ‘घटनाले परिवारमा बज्रपात परेको छ । राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ,’ उनले भने

मनसुनका बेला हुने विपदमा उद्धार गर्न तयारी अवस्थामा रहनलाई वर्षैपिच्छे गोताखोरले अभ्यास गर्छन् । तर, योपटक अनपेक्षित र दुःखद् घटना हुन पुगेको पूर्वडीआईजी थापा बताउँछन् । पूर्वाभ्यासमा जुटेका प्रशिक्षित सुरक्षाकर्मी आफैंलाई नदीले बगाइदिएको कहालीलाग्दो घटनाले सुरक्षा संयन्त्रलाई झस्काएको छ । सशस्त्र प्रहरी बल मात्र होइन, सम्पूर्ण सुरक्षा संयन्त्रको तयारीमाथि पनि प्रश्न उठेको छ ।

बिहीबार बिहान ७ः४५ बजेदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी ब्यारेजदेखि उत्तरतर्फ सशस्त्र प्रहरीका ५५ जना सुरक्षाकर्मी पूर्वनिर्धारित उद्धार अभ्यासमा सहभागी भएका थिए । यो अभ्यास सशस्त्र प्रहरीको मधेश प्रदेशअन्तर्गतको वाहिनीले गर्दै आएको थियो ।

गोताखोरहरू अभ्यासमा व्यस्त थिए । पूर्वअनुभव अनुसार बिहानैदेखि पानीमा डुबेर अभ्यास गरिरहेका गोताखोरहरू दिउँसो करिब ३ बजेसम्म आफ्नो काममा थिए ।

अन्य दिनझैं अभ्यासमा व्यस्त रहेका २ गोताखोर, हरदेव सिंह राजवंशी र सुरज साउद नदी पार गरेर खाजा खाने योजनासहित सप्तकोशी नदीभित्र पसे । सशस्त्र प्रहरीका गोताखोर अभ्यासको क्रममा एक्लै पानीमा पसेका हुँदैनन् । सधैं जोडीमा हात समाउँदै, एक अर्कासँग संकेतमार्फत संवाद गर्दै काम गर्छन् ।

गोताखोरहरू पानीमुनि अक्सिजन सिलिन्डर र शरीरमा बाँधिएको डोरी अर्थात् लाइफलाइनसहित प्रवेश गर्छन् । लाइफलाइन नै पानीमाथि रहेका सहकर्मीहरूसँग संवाद गर्ने एउटा मात्रै माध्यम हो । त्यो डोरी तानेर, हल्लाएर वा छाडेर पानीमुनिका गोताखोरसँग संवाद गरिन्छ । तर, त्यो संवाद प्रणालीले काम नगरेपछि दुर्घटना भएको पूर्वानुमान गरियो ।

गोताखोर कमान्डर सई भक्तबहादुर खत्रीको नेतृत्वमा मोटरबोटमा रहेका गोताखोरहरुले लाइफलाइन समातेर २ जनालाई पानीमा पठाए । उनीहरू नियमानुसार हात समाएर नदीभित्र छिरे । तर, केही समयमै लाइफलाइन अड्कियो, संवाद बन्द भयो । पानीमाथिका सुरक्षाकर्मीहरूले संकेत गर्दा तलबाट कुनै प्रतिक्रिया आएन ।

एकपटक हल्का तानेर हेर्दा डोरी अड्किएको पत्ता लागेपछि उनीहरूले गोताखोर पौडिएर आफैं फर्केलान् भन्ने आशामा लाइफलाइन ‘लुज’ छाडे । तर, उनीहरू फर्केनन् ।

सुरक्षाकर्मीले पानीको सतहमा चनाखो निगरानी राखे । तर राजवंशी र साउदको अवस्था पत्तो लागेन । खोजी थालियो । तर, बेलुका अबेरसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी नआएपछि चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ५ सदस्यीय गोताखोर टोली घटनास्थल पठाइयो । अनुभवयुक्त प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा उक्त टोली शुक्रबार बिहानैदेखि खोजीमा खटिएको छ ।

शुक्रबार बिहान अभ्यासस्थलभन्दा करिब २ किलोमिटर तल राजवंशीको शव फेला पर्यो । तर, साउद अझै पनि हराइरहेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले १ जनाको शव फेला नपरेका कारण घटनास्थल आसपासमा खोजी जारी राखिएको बताए ।

यो घटना सशस्त्र प्रहरीको इतिहासमै पहिलोपटक भएको हो । तालिम प्राप्त र जोखिम उठाउने गोताखोर नै अभ्यासका क्रममा नदीमा बेपत्ता हुनु संगठनका लागि ठूलो क्षति भएको अधिकारीहरु बताउँछन् ।

झापाको गौरादह नगरपालिका–८ निवासी राजवंशीले स्पेसल टास्क फोर्स (एसटीएफ), डिजास्टर म्यानेजमेन्ट (डीएम) र गोताखोर तालिम समेत पूरा गरेका थिए । उनी एसटीएफ तालिमका प्रशिक्षक समेत थिए ।

बेपत्ता साउद पनि योग्य र प्रशिक्षित गोताखोर हुन् । पर्सामा दरबन्दी रहेका उनी २०८१ जेठमा मात्रै गोताखोर तालिम सकेर काममा खटिएका थिए । यी दुवै गोताखोर विगतमा भएका विभिन्न उद्धार अभियानमा सक्रिय थिए । उनीहरूले पानीमा बेपत्ता भएकाको शव निकाल्ने, नदीभित्र हराएका गाडी तथा मानिसको खोजी गर्ने काममा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

घटनास्थलमा खटिएका १ अधिकृतका अनुसार कोशी ब्यारेजअन्तर्गत रहेका ठुल्ठूला ‘ह्युमपाइप’मा गोताखोर फसेकाले घटना भएको हुनसक्छ । खोँच नभएको ठाउँमा लाइफलाइन अड्किनु अस्वाभाविक मानिन्छ । तर, कोशी ब्यारेजका ५६ वटै ढोकामुनि ठूला ‘ह्युमपाइप’हरू भएकाले उनीहरू पानीको बहावसँगै त्यतातिर फसेको आशंका गरिएको छ । त्यसले अभ्यासस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

गोताखोरको काम अत्यन्त जोखिमयुक्त हुन्छ । सन्तुलन गुम्दा वा उपकरणमा सानो त्रुटि हुँदा ज्यान जोखिममा पर्छ । नेपालमा २०६९ सम्म पानीमुनि गएर खोज तथा उद्धार गर्ने दक्ष जनशक्ति थिएनन् । दुर्घटना तथा विपदका समयमा पानीमुनि गएर खोज तथा उद्धार गर्नुपर्ने आवश्यकता महसुस भएसँगै सशस्त्र प्रहरीबाट २५ जनालाई २०६९ वैशाखमा पहिलोपटक गोताखोर तालिमका लागि बंगलादेश पठाइएको थियो ।

वैशाख ३० गते बंगलादेश प्रस्थान गरेका उनीहरु तालिम लिएर २०६९ साउन ३१ गते नेपाल फर्किए । तर, काम जोखिमपूर्ण हुने भएसँगै पछि ६ जनाले राजनीनामा दिए । अहिले बंगलादेशमा तालिम लिएका १६ जना मात्रै गोताखोर रहेको सशस्त्रका सहप्रवक्ता थापाले बताए ।

सशस्त्रले २०७६ देखि आफैं गोताखोर उत्पादन गर्न थाल्यो । पहिलोपटक २०७६ असोज ९ देखि कात्तिक २६ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय, पकली सुनसरीमा तालिमको आयोजना गरिएको थियो । त्यतिबेला वाहिनीपति थिए, डीआईजी नगेन्द्र थापा । उक्त तालिमबाट सशस्त्रमा १९ जना गोताखोर थपिएका थिए ।

सशस्त्र प्रहरीसँग १ सय २८ गोताखोर थिए । तीमध्ये १ जनाको मृत्यु भयो भने १ जना बेपत्ता भएका हुन् । उच्च जोखिमका बीच खटिने गोताखोरले राज्यबाट भने राम्रो सुविधा पाउन सकेका छैनन् ।

८ वर्षसम्म उनीहरूलाई अन्य सुरक्षाकर्मीसरह नै व्यवहार गरियो । २०७७ को मन्त्रिपरिषद् निर्णयपछि मात्रै उनीहरूले काम गरेको दिनको ३ सय रुपैयाँ भत्ता र १० लाख रुपैयाँको बिमा सुविधा पाउन थालेका हुन् ।

तर, उच्च जोखिमको तुलनामा अझैसम्म राज्यबाट भने उनीहरु उपेक्षित छन् । तालिम लिएका, मानसिक र शारीरिक रूपमा दक्ष सुरक्षाकर्मीहरूलाई जोखिमपूर्ण ठाउँमा खटाइँदा समेत न्यूनतम सुरक्षा सुनिश्चित नगरी पठाउने प्रवृत्तिले यस्ता घटनालाई निम्त्याइरहेको अधिकारीहरु बताउँछन् ।

अधिकारीहरुका अनुसार यो घटनाले आगामी दिनमा तालिम दिँदा र अभ्यास गराउँदा सुरक्षाको सुनिश्चिता गरिनुपर्छ भन्ने सन्देश दिएको छ । गोताखोरजस्ता दक्ष जनशक्तिलाई उचित सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

अभ्यासकै क्रममा सिपालु जनशक्ति गुमाउनुले अभ्यासस्थलको सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको छ । त्रुटिपूर्ण व्यवस्थापन पनि कारण हुन सक्ने अनुमान गरिएको छ । आगामी दिनमा यस्तो त्रासदीपूर्ण घटना दोहोरिन नदिनलाई थप सतर्कता अपनाउनुपर्ने सरोकारावालाहरु बताउँछन् ।

सशस्त्रका पूर्वडीआई थापा दुर्भाग्यपूर्ण घटना भएको बताउँछन् । ‘नेपालमा पहिलोपटक गोताखोर तालिम हुँदा वराह वाहिनीको प्रमुख मै थिएँ । २–३ वटा अभ्यासमा म आफैं गएको थिएँ । अहिले घटनामा परेका गोताखोर तालिम प्राप्त, पोख्त र दक्ष हुन् । तर, कल्पनाभन्दा बाहिरको घटना भइदियो,’ उनले भने ।

थापाले पूर्वअभ्यास जोखिमपूर्ण ठाउँमा नै हुने बताए । ‘जहाँ धेरै ‘रिक्स’ हुन्छ, त्यहाँ नै अभ्यास हुने हो । किनभने विपदको उद्धार नै जोखिमपूर्ण हुन्छ । त्यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×