कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १२:५८

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधानमा व्यापक परिमार्जन तथा संशोधन गर्ने निर्णय गर्दै केन्द्रीय कार्यसमितिको आकारसमेत बढाउने प्रस्ताव अघि सारेको छ ।

महाधिवेशनस्थल खुलामञ्चमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको संरचनागत सुधार, सदस्यता प्रणालीको आधुनिकीकरण, नेतृत्व चयन प्रक्रियालाई समावेशी बनाउने तथा सांगठनिक गतिविधिलाई थप व्यवस्थित गर्ने उद्देश्यसहित विधान संशोधन प्रस्ताव पारित गरेको हो । प्रस्तावअनुसार कांग्रेसको पदाधिकारी संरचनामा सभापतिसहित एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन् ।

यसअनुसार पदाधिकारीको संख्या २४ पुग्नेछ । त्यस्तै एक जना प्रवक्ताको व्यवस्था पनि गरिनेछ । हाल कांग्रेसको विधानमा दुई उपसभापति र दुई महामन्त्री तथा आठ सहमहामन्त्री रहने व्यवस्था छ ।

कांग्रेसले पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गर्न लागेको हो । १५औँ महाधिवेशनबाट यो पदाधिकारी संरचनामा समावेश हुनेछ । प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।

सहमहामन्त्रीतर्फ समावेशी प्रतिनिधित्वलाई विस्तार गरिएको छ । खुला, महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ । थप चार जना सहमहामन्त्री मनोनीत हुनेछन् ।

कांग्रेसको नयाँ संरचनाअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ । त्यसमध्ये १७१ जना निर्वाचनबाट आउने र ६१ जना मनोनीत हुने व्यवस्था गरिएको छ ।

निर्वाचनतर्फ प्रत्यक्ष खुलाबाट ४५, महिलाबाट १२, प्रदेशबाट २८, दलितबाट १२, आदिवासी जनजातिबाट १७ र खसआर्यबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यस्तै मधेशीबाट ११, थारुबाट पाँच, मुस्लिमबाट तीन, पिछडिएको क्षेत्रबाट दुई, अल्पसंख्यकबाट एक, अपांगतातर्फ एक र श्रमिकतर्फ तीन जना निर्वाचित हुने प्रस्ताव छ ।

बैठकले पार्टीभित्र पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीको व्यवस्थापनसँगै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचना विस्तार गरेको हो । अब विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेस हुनेछ । त्यहाँबाट पारित भएपछि नयाँ संरचना लागू हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×