
इटहरी । सरकारले हरेक वर्ष असार १५ लाई धान दिवसको दिनको रूपमा मनाउने गरेको छ । साथै, नेपाली समाजमा परम्परागत रूपले नै असार १५ मा दही चिउरा खाने चलन रहँदै आएको हो ।
धान रोपाइँ र दही चिउरा खाने दिनको महत्वबारे इटहरी –१ को राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनीमा सहभागीलाई बताउँदै थिए ।
विद्यालयमा आयोजित शैक्षिक प्रदर्शनीमा अवलोकन गर्न आएका अभिभावक तथा तल्लो कक्षाका विद्यार्थीलाई स्टलमा राखिएको दही चिउरा खानका लागि कक्षा १२ मा अध्ययनरत बिनिसा खनाल आग्रह गर्दै थिइन् ।
विद्यालयको कक्षा १२ को विज्ञान, व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट र ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङसँगै कक्षा १० का ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनामा छनोट भएका ३ वटा समूहका विद्यार्थीले १ दिने फुड फेयर एन्ड प्रोजेक्ट वर्क प्रदर्शनी गरे ।
पहिलोपल्ट विद्यालयले आयोजना गरेको प्रदर्शनीमा परम्परागत सीप र प्रविधिका सामग्री पनि राखेका थिए ।
प्रदर्शनीमा परम्परागत खानाका परिकार पनि राखिएको थियो । ती खानेकुरा विद्यार्थी आफैले बनाएका हुन् । ‘खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुनुपर्छ,’ कक्षा १२ मा अध्ययनरत सेलरोटी बनाउँदै गरेको अवस्थामा भेटिएकी अस्मी राईले भनिन, ‘अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउनु र प्रचारप्रसार गराउनु आजको आवश्यकता छ ।’
विद्यार्थीलाई कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा अभ्यास नै गराउनका लागि शैक्षिक प्रदर्शनी गरिएको प्रधानाध्यापक शरणकुमार बस्नेतले बताए । उनका अनुसार विद्यार्थीहरूलाई छोटो सूचना गरेका आधारमा शैक्षिक प्रदर्शनी गरिएको हो ।
कक्षा कोठामा सैद्धान्तिक ज्ञान जे दिइएको छ त्यसलाई व्यवहारिक रूपमा अभ्यास गराउनु उत्तम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए । उनका अनुसार आगामी दिनदेखि हरेक वर्ष यस्तो प्रदर्शनी गर्ने योजना रहेको बताए ।
प्रदर्शनीमा १५ वटा स्टल राखिएका थिए । तीमध्ये ३ वटा स्थल इन्स्योर / हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरूलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ मा छनोट भएका विद्यार्थी रहेको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।
प्रदर्शनी अवलोकनका लागि विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

























