
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
प्राडा खड्ग केसी, विनिल अर्याल र दीपक अर्यालको नाम सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको हो । त्रिविका शिक्षाध्यक्ष केसीले हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्राडा केशरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि वैशाख २ गतेबाट केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । विनिल अर्याल विज्ञान तथा प्रविधि संकायका पूर्वडिन र दीपक अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
सिफारिसमा परेकामध्ये १ जना त्रिविको उपकुलपति नियुक्त हुने छन् । जेठ ६ गते त्रिविका सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरिएको थियो ।
उपकुलपतिका लागि १२ जना आकांक्षी थिए । तर, समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

























