
रंगेली । मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस ३८ वर्ष पुगिसकेको छ । तर, भौतिक पूर्वाधारदेखि लिएर सबै हिसाबले अपेक्षित विकासबाट टाढा छ ।
सामुदायिक रूपमा सञ्चालित यो क्याम्पस कुनै समय दक्षिण–पूर्वी मोरङकै नमुना शैक्षिक संस्थाका रूपमा चिनिन्थ्यो । तर, पछिल्लो समय राजनैतिक बेवास्ता, नगरपालिकाको चासोको अभाव, जनसहभागिताको कमी र राज्यका निकायबाट सहयोग नपाउँदा क्याम्पसको अस्तित्व संकटतर्फ उन्मुख भएको छ ।

स्थापनाका केही दशकभित्रै पथरी बहुमुखी क्याम्पस, सुकुना क्याम्पस, उर्लाबारी क्याम्पसजस्ता शैक्षिक संस्थाले तीव्र प्रगति गरेका छन् । तर, जनता क्याम्पस भने सुस्त गतिमा अगाडि बढेको भन्दै समुदायस्तरमा चिन्ता व्यक्त गर्न थालिएको छ । पूर्वप्राचार्य लोचन खतिवडाका अनुसार सत्तामा कांग्रेस, एमाले वा माओवादी जुनसुकै आए पनि सरकारले जनता क्याम्पसलाई प्राथमिकतामा राखेनन् । न स्थानीय नेताहरूले आवाज उठाए । न त प्रदेश र संघका जनप्रतिनिधिहरूले भरपुर पहल नै गरेका छन् ।
हुँदा हुँदा अस्तित्व नै मेटिने जोखिम बढेको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर १ हुँदा विगतमा यस क्षेत्रबाट ३ पटकसम्म पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र पछि आमोदप्रसाद उपाध्याय निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ५ भएपछि माओवादीका शिवकुमार मण्डल र स्वतन्त्रबाट योगेन्द्र मण्डल सांसद निर्वाचित भएका थिए । तर, कोही पनि क्याम्पसको उन्नयनमा गम्भीर नभएको पूर्वप्रचार्य खतिवडाले बताए । हालका सांसद मण्डलसमेत क्याम्पसप्रति उदासीन रहेको भन्दै उनले असन्तुष्टि जनाए ।
पूर्वप्राचार्य खतिवडाका अनुसार पञ्चायतकालदेखि नै क्याम्पसले स्थानीय तहबाट खासै सहयोग पाएको छैन । जनता क्यापस रंगेलीमा नभएको भए आजको दिनमा समेत यस क्षेत्रका गरिब तथा विपन्नले उच्च शिक्षाको कल्पनासमेत गर्न नसक्ने उनको भनाइ छ ।

नगरपालिकाले विगत केही वर्षदेखि मात्रै विद्यार्थीलाई शुल्कमा केही सहुलियत दिन वार्षिक ५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । आर्थिक समस्या झेलिरहेको क्याम्पसमा शुल्क तिर्न नसक्ने विद्यार्थीहरूको संख्या उल्लेख्य छ । केही वर्षअघि विद्यार्थीहरूले शुल्क माफीको आन्दोलन गरेपछि नगरपालिकाले थोरै मात्रामा सहयोग आएको हो ।
क्याम्पसका वर्तमान प्राचार्य सुरेन्द्र बस्नेतका अनुसार अनुभवी र ख्यातिप्राप्त प्राध्यापकहरूको उपलब्धतादेखि उपयुक्त शैक्षिक वातावरणका कारण क्याम्पसको शैक्षिक गुणस्तर जोगाइराख्ने प्रयास जारी छ । तर, स्थानीयको पूर्ण सहभागिता र निरन्तर समर्थनबिना क्याम्पस अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै उनले भने, ‘स्थानीय, प्रदेश र संघ सबै तहका निकायले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ ।’
रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले भने नगरले सक्दो सहयोग गरिरहेको दाबी गरे । आगामी दिनमा थप सहयोगको प्रतिवद्धता उनले जनाएका छन् । तर, प्राचार्य बस्नेतका अनुसार घोषणाभन्दा व्यवहारमा बेवास्ता बढी देखिएको छ ।
२०६१ सालमा यही क्याम्पसकी छात्रा सालिनी अग्रवालले नेपाल प्रथम भई ऐश्वर्य पदक ग्रहण गर्दा जनता क्याम्पसको गौरव उच्च थियो । त्यसपछि केही समय क्याम्पसले गति लियो ।

तर, पछिल्लो दशकमा प्रदेश तथा संघीय सरकारका नीतिगत दृष्टिकोण, जनप्रतिनिधिको बेवास्ता र स्थानीय चासोको कमीका कारण क्याम्पस फेरि ओझेलमा परिरहेको छ । गरिब, अतिविपन्न र ग्रामीण समुदायका लागि उच्च शिक्षा हासिल गर्ने १ मात्र सहारा बनेको यो क्याम्पसको भविष्य अन्योलमा पर्दै गएको छ ।
अब स्थानीयवासीदेखि लिएर राजनीतिक नेतृत्वसम्मले गम्भीर चासो लिनुपर्ने बेला आएको सरोकारवाला बताउँछन् । नत्र जनता क्याम्पस शैक्षिक इतिहासको एउटा दुर्भाग्यपूर्ण अध्याय मात्र बन्ने खतरा रहेको उनीहरुको भनाइ छ ।

























