
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको छ । बोर्डको बैठकले नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी भएका विद्यार्थीहरूको लामो प्रतीक्षा समाप्त भएको छ ।
पूरक परीक्षामा कूल ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते सञ्चालन भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
४ जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । गत साउन ११ गते प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए । नतिजा हेर्नका लागि विद्यार्थीहरूले नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न सक्नेछन् ।



















