
विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले मेडिकलतर्फको बीएससी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। धनकुटा जिल्ला अस्पताल शिक्षण अस्पतालका लागि हस्तान्तरण भएसँगै विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि नै उक्त कार्यक्रम सञ्चालनमा ल्याउनेछ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले कोशी प्रदेश सरकारले गत जेठमै धनकुटा अस्पताललाई शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्ने प्रक्रिया थालिसकेको बताएका छन्। चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बीएससी नर्सिङ विषयको पाठ्यक्रम तयार भइसकेको छ। उपकुलपति पोखरेलले भने, ‘सायद माघ भित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौँ र वैशाख भित्रमा नर्सिङतर्फको पाठ्यक्रम पनि सञ्चालन गरिसक्नेछौँ।’
कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त नगर्दा मेडिकलतर्फका कार्यक्रमहरू सञ्चालन गर्न पाएको छैन। विश्वविद्यालयले स्वास्थ्य प्राविधिक कार्यक्रमहरूका लागि पाठ्यक्रम निर्माण गरिसके पनि अस्पताल हस्तान्तरण सम्बन्धी सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसेको छ। मनमोहनले सम्झौताका लागि खाका बुझाए पनि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले उक्त फाइल अगाडि नबढाएको बताइएको छ।
विश्वविद्यालयको ‘स्कुल अफ मेडिकल एन्ड हेल्थ साइन्स’ ले चार वर्षे बीएससी नर्सिङ कार्यक्रमका लागि चिकित्सा सेवा आयोगले तोकेको मापदण्ड अनुसार नयाँ पाठ्यक्रम तयार गरिसकेको छ, जसको निरीक्षण चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठा ले समेत गरिसकेका छन्।
मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफ्नै आङ्गिक क्याम्पसहरू मार्फत इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी, पाँच वर्षे बीबीए एलएलबी तथा स्नातकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको पढाइ गराउँदै आएको छ।



















