
काठमाडौं । देशमा चिसो मौसम सुरु भइसक्दा पनि डेंगु संक्रमणको क्रम घटेको छैन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कले संक्रमणको अवस्था यथावत् रहेको देखाएको छ।
महाशाखाका अनुसार पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको र सोही अवधिमा डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु भएको तथ्याङ्क ईडीसीडीसँग छ। यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ, जसमध्ये गण्डकी प्रदेशमा २ हजार १४५ जनासहित सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ। बागमती, लुम्बिनी र कोशी प्रदेशमा पनि संक्रमण दर उच्च नै रहेको छ।
जनस्वास्थ्यविद्हरूले सामान्यतया २५ देखि ३० डिग्री सेल्सियस तापक्रममा सक्रिय रहने लामखुट्टे अहिले कम तापक्रममा पनि सक्रिय रहनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, र किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारणहरू रहेको बताएका छन्। तराईमा गर्मी बढेपछि संक्रमण घटेको पाइए पनि, पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ। विज्ञका भनाइमा, डेंगु सार्ने लामखुट्टे १२–१३ डिग्री सेल्सियस तापक्रममा पनि सहजै बाँच्न सक्छ।



















