फोटो क्याप्सन : नोबेल अस्पतालमा बिरामीका लागि रगत दिँदै नेपाल प्रहरीका हवल्दार लीलाराज सुवेदी ।विराटनगर । कोशी प्रदेशका अस्पतालहरूमा पछिल्लो समय रगतको चरम अभाव देखिएको छ । रगतको हाहाकार हुँदा पनि ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा केन्द्र) मौनजस्तै छ ।
शल्यक्रिया गराउनुपर्ने बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, दीर्घरोगी र आकस्मिक उपचारमा रहेका बिरामीले समयमै रगत नपाउँदा उपचार नै रोकिने, ढिलाइ हुने र ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । बिरामीलाई रगत उपलब्ध गराउनुपर्ने ‘ब्लड बैंक’बाट नै रगत सकिएको जवाफ मात्रै आउँछ ।
रगत उपलब्ध गराउने मुख्य जिम्मेवारीमा रहेको ‘ब्लड बैंक’ले बिरामीलाई रगत उपलब्ध गराउन कुनै सहजीकरण गरेको छैन । ‘रगत छैन’ भन्ने सामान्य जवाफ दिएर जिम्मेवारीबाट पन्छिन्छ । अनि बिरामीका आफन्त र परिवारका सदस्यहरू अन्तिम विकल्पका रूपमा सुरक्षाकर्मीको ढोका ढकढक्याउन बाध्य भइरहेका छन् ।
यसको एउटा गम्भीर उदाहरण विराटनगरको नोबेल शिक्षण अस्पतालमा देखियो । घाँटीमा थाइराइड क्यान्सरको शंका लागेकी १ युवतीलाई चिकित्सकले जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रियाअघि ‘ए–बी पोजिटिभ’ समूहको रगत अनिवार्य थियो ।
परिवारका सदस्य र आफन्तले विराटनगरदेखि आसपासका सबै सम्भावित स्थानमा खोजी गरे । तर, कुनै पनि ‘ब्लड बैंक’बाट आवश्यक रगत उपलब्ध भएन । ‘स्टक सकिएको छ’ भन्ने जवाफ पाएपछि उनीहरू थप निराश बने ।
बिरामी शल्यक्रियाका लागि तयारी अवस्थामा रहेकी थिइन् । तर, रगत नपाइएकै कारण शल्यक्रिया रोकिने खतरा बढ्यो । यस्तो अवस्थामा युवतीका आफन्त मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको सम्पर्कमा पुगे ।
मानवीय संवेदनशीलता देखाउँदै एसपी कटवाल आफैं ‘ए–बी पोजिटिभ’ समूहको रगत भएका सुरक्षाकर्मीको खोजीमा लागे । खोजीका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत हवल्दार लीलाराज सुवेदीको रगत समूह मिल्यो । सुवेदी तत्काल नोबेल शिक्षण अस्पताल पुगेर रगत दिए । त्यसपछि मात्र बिहीबार युवतीको सफल शल्यक्रिया हुन सक्यो । हाल उनी अस्पतालमै उपचाररत छिन् ।

यो घटना अपवाद होइन, कोशी प्रदेशका अस्पतालहरूमा दैनिक जसो देखिने यथार्थ हो । लामो समयदेखि बिरामीको सेवामा सक्रिय नेपाल प्रहरीका पूर्वहवल्दार राजेन्द्र घिमिरेका अनुसार अहिले रगत जुटाउनु निकै कठिन भएको छ । उनका अनुसार दैनिक ठूलो मात्रामा रगतको माग हुन्छ, तर ‘ब्लड बैंक’मा पाइँदैन ।
‘कतै रगतको कालोबजारी भइरहेको हो कि भन्ने आशंका पनि उठिरहेको छ,’ उनी भन्छन् । घिमिरेले उपचारका लागि अस्पताल आउने गरिब र विपन्न बिरामीलाई निःशुल्क सहजीकरण गर्ने र आवश्यक परे रगत जुटाउन दौडधुप गर्ने काम गर्दै आएका छन् ।
समयमै रगत उपलब्ध गराउन नसक्दा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था आउने गरेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकाहरूका लागि उपचार खर्च जुटाउनै कठिन हुन्छ । त्यसमाथि रगतको अभावले पीडा थपिएको घिमिरे बताउँछन् । ‘बिरामीको ज्यान जोगाउनु नै सबैभन्दा ठूलो धर्म हो,’ उनी भन्छन् ।
कोशी प्रदेशका अधिकांश ‘ब्लड बैंक’मा अहिले सबै समूहको रगत अभाव छ । तत्काल रगत चाहिने बिरामीले समेत पाउन सकिरहेका छैनन् । पहुँच भएका केही व्यक्तिलाई भने रगत उपलब्ध हुने गरेको गुनासोसमेत उठ्दै आएको छ । यही कारण ‘ब्लड बैंक’को भूमिकामाथि प्रश्न उठिरहेका छन् । रगतमा व्यापार गरेर कमाउन धन्दामा सक्रिय भएको आरोप ‘ब्लड बैंक’माथि लाग्दै आएको छ ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादव भने रगत अभाव हुनुको मुख्य कारण आपूर्ति नहुनु नै भएको बताउँछन् । उनका अनुसार अहिले सबै समूहको रगत सकिएको छ । ‘नेगेटिभ समूहको रगत त झन् दुर्लभ छ । जुटाउन लगभग असम्भवजस्तै हुन्छ,’ यादव भन्छन् । चिसो मौसम सुरु भएपछि रक्तदान कार्यक्रम नभएकाले संकट थप गहिरिएको उनको भनाइ छ ।
विराटनगर स्वास्थ्य सेवाको प्रमुख केन्द्र भएकाले कोशी प्रदेशसँगै मधेश प्रदेश र भारतका विभिन्न स्थानबाट पनि उपचारका लागि बिरामी आउने गर्छन् । बिरामीको चाप अत्यधिक भएकाले माग अनुसार रगत आपूर्ति गर्न नसकिएको यादव बताउँछन् । उनका अनुसार विराटनगरमा मात्रै दैनिक १ सय ५० पिन्टभन्दा बढी रगतको माग हुन्छ ।
तर, दाताहरू र बिरामीका आफन्तसँग समन्वय गरेर मुस्किलले ७० पिन्टजति मात्र उपलब्ध गराउन सकिएको छ । समग्र कोशी प्रदेशमा दैनिक करिब ४ सय पिन्ट रगत आवश्यक पर्ने भए पनि आपूर्ति झन्डै ५० प्रतिशतमा सीमित रहेको यादवको भनाइ छ ।
उनका अनुसार रगत अभावका कारण दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती र सुत्केरी महिला, दीर्घ रोगी तथा नियमित रगत चाहिने बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । संस्थागत रूपमा नियमित रक्तदान कार्यक्रम नहुँदा संकट अझ गहिरिएको यादव स्वीकार गर्छन् । उनका अनुसार कोशी प्रदेशमा करिब १० वटा ‘ब्लड बैंक’ छन् । तर, सबैमा अभाव छ ।
यस्तो अवस्थामा सुरक्षाकर्मी नै बिरामीका लागि अन्तिम सहारा बनेका छन् । कतै रगत नपाएपछि बिरामीका आफन्त नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ढोका ढकढक्याउन पुग्ने गरेका छन् । सुरक्षाकर्मीले आफ्नो जिम्मेवारीभन्दा माथि उठेर रगत दिँदै बिरामीको ज्यान बचाइरहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रगतको माग गर्दै दैनिकजसो फोन आउने गरेका छन् । ‘मिल्दो समूहको रगत भएका प्रहरीलाई तत्काल सम्पर्क गरेर बिरामीका आफन्तसम्म पठाउने गरेका छौं,’ उनी भन्छन् । ठूलो संख्यामा एउटै स्थानमा बस्ने भएकाले सुरक्षाकर्मीबाट छिटो रगत उपलब्ध हुने अपेक्षा सर्वसाधारणले गर्नु स्वाभाविक भएको कटवालको भनाइ छ ।
मानवीय सेवाका हिसाबले रगत दिएर बिरामीको ज्यान जोगाउनु ठूलो कुरा भएको उनी बताउँछन् । तर, सधैं सुरक्षाकर्मीको भरमा मात्रै संकट टार्न सम्भव नहुने भन्दै उनले सम्बन्धित निकायले संस्थागत र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । ‘सबैलाई नियमित रक्तदानतर्फ प्रेरित गर्नुपर्छ । व्यक्ति र संघ–संस्थाले सक्रियता बढाएनन् भने यस्तो संकट झन् गहिरिँदै जान्छ,’ एसपी कटवालको भनाइ छ ।
कोशी प्रदेशमा देखिएको रगतको चरम संकटले स्वास्थ्य प्रणाली, ‘ब्लड बैंक’को व्यवस्थापन र सामाजिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । बिरामीको ज्यान बचाउन अन्तिम समयमा सुरक्षाकर्मी दौडिनुपर्ने अवस्था आफैंमा चिन्ताजनक यथार्थ बनेको छ ।



















