१०० दिनमा मुख्यमन्त्रीका ६० काम

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १, शनिबार १७:१८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।
२७ बैशाखमा नेकपा माओवादी केन्द्रको समर्थनमा कार्की प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार एक सय दिन पुगेको अवसरमा जनतालाई आशा देखाउने गरी काम गरेको भन्दै उनले ६० बुँदे उपलब्धि सार्वजनिक गरेका छन् ।

प्रदेश सरकारले एक सय दिन मनाउँदै गर्दा सत्ता गठबन्धन भने परिवर्तन भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनाउन सहायोग गरेको माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । केन्द्रको समीकरण अनुसार सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई सरकारमा ल्याउन मन्त्रालय फुटाउने गृहकार्य मुख्यमन्त्रीले गरिरहेका छन् ।

‘२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनपश्चात प्रदेशमा सरकार बन्ने र ढल्ने क्रम चलिरहे, यसबाट प्रदेश सरकार अस्थिर बन्न पुग्यो,’ उनले भने,‘ आरोह अवरोहहरुलाई चिर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको छ ।’

मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धि अध्ययन कार्यदल गठन गरेको, आर्थिक वर्ष २०८१ ÷८२ को बजेट तथा कार्यक्रम पास गरेको, प्रदेशको दोस्रो आवधिक योजना सार्वजनिक गरेको, लोक सेवा आयोग, योजना आयोग, लगानी प्राधिकरण र प्रदेश विकास परिषदलाई पूर्णता दिएको, प्रदेशको राजनीतिक तथा अन्य समस्या समाधान गर्न समिति गठन गरेको , प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याएको, प्रदेश निजाती सेवा ऐन २०७९ मा दोस्रो संशोधन विधेयक प्रदेशसभामा पेश गरेको उपलब्धी समावेश गरेका छन् ।

सार्वजनिक निजी साझेदारी अन्तरगत भेडेटारमा स्काई वाक टावर निर्माण गरेको, धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटक सहयोगी प्रहरी राख्नका लागि प्रक्रिया सुरु गरेको, पुराना घरको कााठ ओसारपसारमा सजहताका लागि निर्णय गरेको उनको उपलब्धिको सूचीमा छन् ।

सडक सुरक्षाका लागि विराटनगर र उदयपुरमा ट्राफिक लाइट जडान गरेको, विपद तथा बाढी प्रभावितलाई राहत सामग्री प्रदान गरेको, झापाको चारआली, सुनसरीको भाण्टाबारी, इलामको पशुपतिनगर र मोरङको रानीमा सवारी पटके राजस्व संकलन केन्द्र स्थापना गरेको, संखुवासभाको किमाथाङ्का नाका पुन सञ्चालन गराएको उनको उपलब्धी हुन् ।

ताप्लेजुङ इलाम, तेह्रथुम र भोजपुरमा भेटेनिनरी अस्पता र पशु सेवा विज्ञ केन्द्र स्थापना गरेको, अन्तरराष्ट्रिय चिया सम्मेलनका लागि बजेट विनियोजन गरेको, प्रदेशबाट एक हजार २ सय किलो घ्यू जापात निर्यात गरेको, प्रदेशमा खोरेत नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएको मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेका उपलब्धी हुन् । पाँच वटा बहुवर्षे सडकको निर्माण पुरा भएको , ८ वटा पुल र १२ वटा झोलुङ्गे पुल आफ्नो पालामा सम्पन्न भएको उनले जनाएका छन् । ९२ वटा सामुदायिक भवन, २२ वटा सरकारी भवन,१० वटा खेलकुद पूर्वाधार र जनता आवास कार्यक्रम अन्तरगत ६०८ वटा घर निर्माण भएको उनले जानकारी दिएका छन् । खानेपानी तर्फका ४६ र सिचाई तर्फ ३० वटा आयोजना आफ्नो पालामा सम्पन्न भएको उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.